८ वैशाख २०८१ शनिबार
अर्थ

ग्राहकबिनाको बजार !

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरूपमा खुलेको छ। चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला भए पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन्। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहक आउन सकेका छैनन्।  

बिहानैदेखि पसल खोलेर बस्ने गरेको बताउँदै धनगढी साल्ट ट्रेडिङ लाइनमा रहेको अंकित बस्त्रालयका सञ्चालक बिनोद बोहरा भन्छन्, ‘पसल खोलेर बसेका छौँ, तर ग्राहकै आउँदैनन्।’ सरकारलाई कर तिर्नका लागि पनि जोखिम मोलेर व्यवसाय खोलेको बताउँदै उनले भने, ‘कर तिर्नका लागि आम्दानी गर्नु प¥यो भनेर व्यवसाय खोल्यौँ, तर ग्राहकै आउँदैनन्।’ दिनभर सडकमा आँखा डुलाउँदै ग्राहक आउने प्रतिक्षामा बसेको बताउँदै धु्रवतारा सपिङ सेन्टरका प्रोप्राइटर सुशील शाही भन्छन्, ‘बिहानदेखि बेलुकीसम्म पसल खोलेर बसेको हुन्छु, तर ग्राहकै आउँदैनन्।’  

छाता, रेनकोट तथा गर्मीमा लगाउने लुगा किन्न ग्राहक आउने समय भए पनि यसपालि भने अहिलेसम्म बजारमा ग्राहक आउन नसकेको उनी बताउँछन्। लामो समयको लकडाउनले भएको पैसा सकिएका कारण पनि ग्राहक बजार आउन नसकेको हुनसक्ने बताउँदै उनले भने, ‘एक त कोरोनाको त्रास कायमै छ, अर्कोतर्फ पैसा पनि सकिएको अवस्था भएकाले ग्राहक बजार पुग्न सकेका छैनन्।’ फाटफुट आउने ग्राहकले पनि सस्तो सामान खोज्ने गरेको उनको अनुभव छ, ‘ग्राहकले गुणस्तरीय नभई सस्तो सामान खोज्न थालेका छन्, यसले पनि के पुष्टि हुन्छ भने अहिले ग्राहकसँग पैसा छैन।’  

लामो समय बन्दाबन्दीको अवस्थामा रहेका सर्वसाधारण सुरक्षाका दृष्टिले पनि बजारमा निस्कन नसकेको बताउँदै कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा अर्थशास्त्री राजेन्द्रवीर चन्द भन्छन्, ‘एक त मानिस कोरोना त्रासले घरभित्रै छन्, अर्कोतर्फ घरभित्रै बस्दाबस्दै गोजी रित्तिएको छ, यसले पनि ग्राहक हत्तपत्त बजार निस्कन सकेका छैनन्।’  

सुरक्षा महसुससँगै पैसा भएपछि मात्रै ग्राहकले विलासी जीवन रोज्ने गरेको बताउँदै उनी भन्छन्, ‘अहिले ग्राहकसँग पैसा छैन, यस्तो बेलामा मानिसले अत्यावश्यक सामग्रीको जोहो गर्नेतर्फ लाग्छन्।’ अहिले मानिस घरायसी सामानको सदूपयोग गर्न खोजिरहेको बताउँदै उनले भने, ‘मानिससँग जे जति साधन छन्, त्यसको नै सदुपयोग गर्न खोज्ने भएकाले पनि बजार निस्कन चाहेका छैनन्।’  

अर्कोतर्फ लामो समयसम्म लकडाउनमा बसिरहँदा मानिससँग खर्च गर्ने क्षमता बिस्तारै कम हुँदै गएको उनी बताउँछन्। ‘प्राइभेट’ क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारीमा रहेका अधिकांश मानिसमा खर्च गर्नसक्ने क्षमता घटेका कारण पनि बजार निस्कन नसकेको उनको भनाइ छ।  

अहिले बजार ग्राहकबिना खुलेको बताउँदै कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले भन्छन्, ‘व्यापारको स्थिति कोरोना सुरु हुनु अघिदेखि खस्कँदै गएको थियो, लकडाउनपछि खुलेको बजारले त ग्राहक नै पाएको छैन।’ कैलालीको व्यापार व्यवसाय ८० प्रतिशत घटेको बताउँदै उनले भने, ‘जबसम्म यातायात खुल्दैनन्, तबसम्म व्यापारीले ग्राहक भेटाउँदैनन् र व्यापार बढ्दैन।’ 

प्रकाशित: ५ असार २०७७ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App