१६ चैत्र २०८० शुक्रबार
अर्थ

लकडाउनान पनि धमाधम गति लिँदै धनकुटाका आयोजना

लकडाउनका कारण अधिकांश विकास निर्माण रोकिएको बेला धनकुटामा भने निरन्तर सञ्चालन भइरहेका छन् । जिल्लाको ७ वटै स्थानीय तहले मजदुरलाई रोजगारी सिर्जना गर्न र विकास निर्माणलाई समयमै सम्पन्न गर्न योजना सञ्चालन गरिरहेका छन् । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले रोग र भोगसँगको लडाइँ जित्नको लागि विकास निर्माणका कार्यलाई निरन्तता दिएको बताउँछन् ।  

धनकुटा नगरपालिकाले  चालु आर्थिक वर्षको २ सय ५० भन्दा बढी योजना रहेका छन् । तीमध्ये ८० प्रतिशत योजनाको काम सम्पन्न भइसकेका छन् । ‘लकडाउनकैबीच सामाजिक दुरी कायम गर्दै निर्माणका कार्यलाई निरन्तरता दियौं । आयोजनाको भुक्तानी गरेर मजदुरलाई रोजगारीसमेत सिर्जना पनि गर्यौं,’ मेयर तामाङले बताए । बाँकी काम समेत असारको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने र आगमी आर्थिक वर्षको नीति कार्यक्रम तयार गर्ने योजना रहेको उनले बताए ।  

पाख्रिबास नगरपालिकाको ९० प्रतिशत काम सम्पन्न गरेको मेयर वीर्षबहादुर राईले बताए  ।  नगरको १६६ वटा योजनाका काम सम्पन्न भएका छन् । ४४  वटा योजनाको भुक्तानी भइसकेको छ । अन्य योजनाको समेत अन्तिम विलभरपाईको परीक्षण गरेर भुक्तानी गर्ने प्रक्रियामा रहेको मेयर राईले बताए ।  यो नगरमा कोरोनाको कारण  १५७ वटा तालिम तथा गोष्ठीका कार्यक्रम भने रद्द भएको छ ।  

चौबिसे गाउँपालिकाको वडास्तरीय ६४ वटा, गाउँपालिकास्तरीय १३ वटा योजना सम्पन्न भएको उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् । प्रदेश सरकारको बजेटबाट सञ्चालित आमडाड जरुवा खोला सडक निर्माण, चाँदानी चोक ठूलढुङ्गे छरुवा अठारसय ग्रामीण कृषि सडक, राजारानी रिङरोड, सहिद नारायणप्रसाद नोगू पार्कसम्म जाने बाटो निर्माण सम्पन्न भएका छन् । यी योजनाको भुक्तानी समेत सकिएको उपाध्यक्ष रुचालले बताइन् ।  

सहिदभूमि गाउपालिकाको वडास्तरीय योजनाहरुमा तालिम गोष्ठीबाहेक सबै योजना सम्पन्न भएको छ । गाउँपालिकास्तरीय योजना ८ वटा योेजना सकिएको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ११ वटा योजना र बहुवर्षिय २४ वटा योजनाबाहेक सवै योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।  

साँगुरीगढी गाउँपालिकामा सानाठुला गरेर २ सय योजना सकिएका छन् । सडक निमार्णतर्फ १२ वटा योजना मध्ये ३ वटा योजनाको अन्तिम भइसकेको छ । बाँकी योजनाको भुक्तानीको लागि प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार विकास तथा निमार्णतर्फ  ८ वटा योजनाको निर्माण कार्य सकिएको छ । कोरानाको कारण गाउँमा जनशक्ति परिचालन गर्न सजिलो भएको र गाउँमै रोजगारी र मजदुर सहज उपलब्ध भएका कारण काम गर्न सजिलो भएको गाउँपालिका सदस्य बालकृष्ण राईले बताए ।

छ थर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाले पनि ७ प्रतिशत योजना सकेका छन् । असार १५ सम्म सबै योजना सकिने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App