४ वैशाख २०८१ मंगलबार
अर्थ

लकडाउनले नछोएको चदरा व्यवसाय

सुंदेलमा काठ्को भाँडाकुँडा बनाउँदै कृष्णबहादुर बिश्वकर्मा । तस्बिर सौजन्य : इखबहादुर राई

लकडाउनका कारण अहिले अधिकांश व्यापार व्यवसाय ठप्प छ । तर, खोटाङको केपीलासगढी गाउँपालिका–७ सुंदेलका कृष्णबहादुर बिश्वकर्माको चदरा व्यवसाय भने निरन्तर चलिरहेको छ । सुंदेल पुछारमा पर्ने रावा खोला किनारमा टहरा बनाएर बिश्वकर्माले काठका विभिन्न किसिमका आकर्षक भाँडाकुँडा निर्माण गरिरहेका छन् । खोलाको पानीले सञ्चालन हुने मेसिन प्रयोग गरेर उनले कठुवा, ठेकी, तोङबा, सोराई, हर्पे, तोलुङ लगायतका घरेलु सामग्री तयार पार्दै ग्राहकको हातमा थमाइदिने गरेका छन् ।  

काठको भाँडाकुँडा बनाउने चदरा व्यवसाय कृष्णबहादुरको मौसमी व्यवसाय हो । २८ वर्ष अघिदेखि उनले चदरा व्यवसाय सुरु गरेका हुन् । त्यही भएर ८ वर्षअघि उदयपुरको बेलटार बसाई सरिसकेका भए पनि उनी हरेक वर्षको भदौमा आएर चदराको काम गरेर असारमा फर्कने गरेका छन् । चदरा व्यवसायबाट एक सिजनमा एक लाखको हाराहारीमा आम्दानी हुने गरेको बिश्वकर्माले बताए । ‘प्रायः भदौमा आएर असारसम्म चदराको काम गर्छु,’ ५२ वर्षीय बिश्वकर्माले भने, ‘दिनमा नहुँदा पनि आठ सय र बढिमा पन्ध्र सय कमाई हुन्छ । एक सिजनमा एक लाख जति लिएर जाने गरेको छु ।’  

चदरा व्यवसायका लागि कृष्णबहादुर हरेक वर्ष झोलाभरी मेसिन बोकेर रावा खोला किनारमा आइपुग्छन् । भाँडाकुँडा बनाउने उपकरण जडान गर्छन् । त्यही मौकामा स्थानीय दार, पहेँले, खमारी लगायतकारुखका कच्चा मुढा बोकेर उनीकहाँ पुग्छन् र इच्छाएको सामान बनाउन लगाउँछन् । त्यही अर्डर अनुशार काठका भाँडाकुँडा बनाएरै पाँच÷छ महिना वित्ने गरेको कृष्णबहादुरले बताए । हाल छाप्रोभित्र बसेर खोलाको पानीले मोटर घुमाएर काठको मुढोलाई आकर्षक भाँडाकुँडाको आकार दिनु उनको दिनचर्य नै बनेको छ । बिश्वकर्माले तयार पारेका काठका सामानको मूल्या फरक–फरक छ । उनले एउटा कठुवा (टुक्से) बनाएको १४० रुपैयाँ लिन्छन् । ठेका बनाउँदा मानाको सय रुपैयाँका दरले र अन्य सामान बनाउँदा पनि मानाको १२५ रुपैयाँका दरले पारिश्रमिक लिने गरेका छन् । यही चदरा व्यवसायबाट आउने आम्दानीबाट उनले ९० वर्षकी आमा, श्रीमती र सात जना छोराछोरीको आवश्याकता धानिरहेका छन् ।  

धातु तथा रबरका मालसामान प्रयोग गर्ने क्रम बढे पनि गाउँघरमा काठको भाँडाकुँडाको प्रयोग घटेको छैन । केपीलासगढी गाउँपालिकाभित्रका सुंदेल, बाक्सिला, दिप्सुङ, सप्तेश्वर लगायत छिमेकी पालिकाका स्थानीय समेत काठको भाँडाकुँडा बनाउनका लागि उनीकहाँ पुग्ने गरेका छन् । बढिजसो स्थानीयले कठुवा, ठेकी र टुक्से (सानो कठुवा) बनाउने गरेको स्थानीय इखबहादुर राईले बताए ।  

काठको भाँडामा राखिएका खाद्यबस्तु लामो समयसम्म स्वस्थकर रहने जनबिश्वास छ । गाउँघरमा कतिपय खाद्यबस्तु काठको भाँडामा राख्नु स्वास्थ्यका दृष्टिले उपयुक्त पनि मानिन्छ । त्यही कारण धातु तथा रबरको भाँडाकुँडाको सट्टा काठको सामान प्रयोग गर्ने स्थानीय अहिले पनि उत्तिकै छन् । बढिजसो दुधदहीको परिकार राख्ने ठेकी, दुधेरी तथा रक्सी दिन भाँडाकारुपमा प्रयोग गरिने कठुवा खपत हुने गरेको बिश्वकर्मा बताउँछन् । 

प्रकाशित: २४ जेष्ठ २०७७ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App