८ वैशाख २०८१ शनिबार
अर्थ

चियामै भविष्य देख्छन् जो

आफ्नो उद्योगमा उत्पादन भएको तयारी चिया देखाउँदै चिया उत्पादक तथा व्यापारी चिरञ्जीवी दाहाल । तस्बिरः भीम/नागरिक

अढाई महिनायताको लकडाउनले अरू क्षेत्रजस्तै चियाको खेती, ढुवानी र बजारमा नराम्रोसँग क्षति पुगिरहेको छ । गतवर्षहरूमा पनि कहिले उत्पादन र कहिले निर्यातको झन्झट हुने गरेकाले चिया खेतीप्रति धेरै किसान उदासीन हुँदैछन् । तर, यहीबेला इलाममै यस्ता पनि युवक छन्, जो चिया खेतीमै अत्यन्त ठूलो सम्भावना देखेर यसैमा ठूलो लगानी गरिरहेका छन् । र, अरू किसानलाई समेत चिया खेतीमा जाँगर भरिरहेका छन् ।

उमेरले ३० वर्ष हाराहारीमात्रै पुग्दैछन् इलाम नगरपालिका–१, साखेजुङका चिरञ्जीवी दाहाल । दशकदेखि काठमाडौंको ठमेलमा नेपालमा उत्पादित तयारी चिया विक्री गरिरहेका दाहाल अहिले घर फर्केर आफैं चिया उत्पादन÷प्रशोधनमा लागेका छन् । पूर्वीपहाडका जिल्लाबाट किनेर ल्याएको उच्च गुणस्तरको अर्गानिक चियाले तेस्रो मुलुकमा बजार पिटेपछि उनलाई लाग्यो–अब किन आफैं चिया उत्पादन नगर्ने ।

ठमेलमा रहेको एउटा पसलले नथामेपछि उनले अर्काे पसल पनि खोले । ‘टि–लय’को ब्रान्डमा उनको चिया तेस्रो मुलुकमा विक्री भइरहेको छ । तर, अब अरूले उत्पादन गरेको चिया व्यापार गर्नेमात्र होइन, आफ्नै बगान र उद्योगमा उत्पादन भएको तयारी चिया सोझै तेस्रो मुलुकका व्यापारीसम्म पु¥याउने लक्ष्य लिएका छन् उनले । नभन्दै, उनलाई संयुक्त अधिराज्य र भारत कोलकाताको टिमले पनि तयारी चिया खरिद गरिदिने विश्वास दिलाएका छन् । ‘अहिलेसम्म वर्षको १० हजार किलो हाराहारी तयारी चिया बेच्दैथिएँ,’ उनले भने, ‘अब वर्षको १ लाख किलो बेच्न समस्या छैन ।’

दाहालले केही महिनाअघि साखेजुङका ३ उद्योगमा करिब ५ करोड रुपैयाँ लगानी गरेको सुनाए । टि–लय स्पेसियालिटी, को–अपरेटिभ र दाहाल बन्धु चिया उद्योगमा उनले यो लगानी गरेका हुन् । त्यतिमात्र होइन, जिल्लाका केही किसान चियाको बजार निश्चित नभएको, हरियोपत्तीको मूल्य नपाएको भन्दै चियाबारी मासेर अरू बाली लगाउँदैछन् भने दाहाल चाहिँ भएको जंगल र अन्य बाली मासेर चिया । ‘उच्च गुणस्तरको अर्गानिक चियाको माग विश्व बजारमा धेरै छ,’ उनी भन्छन्, ‘अहिले कोरोना भाइरसका कारण विश्वमा यसको व्यापार ठप्प छ तर यो स्थायी समस्या होइन । वातावरण सहज भएपनि पुरानै अवस्थामा फर्किन सकिन्छ ।’

उनले लकडाउनअघिसम्म विभिन्न मुलुकबाट १० हजार किलो तयारी चियाको माग आएको बताए । तर, लकडाउनका कारण अहिले चियाको बजार अनिश्चित बनेको उनी बताउँछन् । ‘अहिले तयार गरेको चिया धेरै समय राखेर बेच्दा त्यसको गुणस्तर कम हुन्छ र मूल्य बढी पाइँदैन,’ उनी भन्छन्, ‘तर, लकडाउन सहज हुनेबित्तिकै बेच्नेगरी अहिले धमाधम चिया प्रशोधन गरिरहेका छौं ।’ आफ्नै ८० रोपनीमा चिया खेती रहेको र स्थानीय ६३ किसानले आफ्नो उद्योगमा हरियो चियापत्ती प्रशोधनका लागि ल्याउने गरेको दाहालको भनाइ छ ।

उनका ३ उद्योगमा अर्थाेडक्स ब्ल्याक, ग्रिन र गोल्डेन टी उत्पादन गरिँदैछ । रुस, इरान र खाडी मुलुकहरूबाटसमेत यो वर्ष चियाको माग आएको दाहालको भनाइ छ । काठमाडौंमा रहेर चिया विक्री गर्दा विश्वका विभिन्न मुलुकका व्यापारीसँग सम्पर्क गरेकाले कुन देशमा कस्तो चियाको माग छ भन्ने आफूलाई जानकारी भएको उनी बताउँछन् । ‘अहिले विश्वमा नेपाली चिया भारतलगायत अन्य देशको भन्दा गुणस्तरीय मानिन्छ,’ उनले भने, ‘केही वर्षअघिको एक अध्ययनको निश्कर्ष छ–नेपाली चियाको हरियोपत्ती विश्वमै सर्वाेत्कृष्ट छ तर प्रशोधनमा ध्यान पुग्न सकेको छैन ।’

अर्गानिक चिया उत्पादन गर्न किसानले बढी मेहनत खर्चिनुपर्छ । तर, तयारी अर्गानिक चियाको बजार भने बर्सेनि विस्तारमात्र भएको छैन, मूल्य पनि बढिरहेको छ । उद्योगबाट हरेक वर्ष बढी मूल्यमा चिया लिने गरेको र आफूले पनि बढी मूल्यमै बेच्ने गरेको व्यापारी स्वीकार्छन् । तर, लकडाउनले यो साल चाहिँ विश्वमै चियाको बजार ठप्प बनेपनि उद्योगहरूले चिया प्रशोधन गर्न छाडेका छैनन् ।

मेहनत गर्नसके चियामा विश्वकै सर्वाेत्कृष्ट गुणस्तर यहीं उत्पादन गर्न सकिने दाहाल बताउँछन् । ‘सबै किसान र उद्योगी इमान्दार बन्ने हो भने नेपालले चियाकै माध्यमबाट विश्वमा आफूलाई चिनाउनसक्छ,’ उनी भन्छन्, ‘चियाखेतीमा निरास हुनुपर्ने केही छैन, सम्भावनै सम्भावना छ । तर, गुणस्तरमा ध्यान दिनुपर्छ ।’ नेपालबाट बर्सेनि सवा ३ अर्बको तयारी चिया विक्री हुनेगरेको तथ्यांक छ । तयारी चियाको मुख्य बजार भारत हो । उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया तेस्रो मुलुकमा उच्च मूल्यमै विक्री हुनेगरेको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App