८ वैशाख २०८१ शनिबार
अर्थ

यार्सागुम्बा खुला गर्ने सरकारको तयारी

कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्न तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई सुर्खेतका क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था हुँदा यार्सागुम्बा संकलन गर्दा जोखिम नहुने प्रदेश सरकारले जनाएको छ । जसका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  

यार्सागुम्बा संकलनमा भारतबाट आउने व्यक्तिलाई प्रवेश दिइने छैन । बहुमूल्य यार्सागुम्बा कर्णालीका नागरिकको प्रमुख आयस्रोतका रूपमा लिइन्छ । कतिपयले यतिबेला गरेको आम्दानीले वर्षभरि घर खर्च चलाउने गर्छन् । यहाँका सर्वसाधारणले यो समयमा प्रतिव्यक्ति दुई लाखभन्दा माथि आम्दानी गर्ने गरेका छन् । कर्णालीको डोल्पा, मुगुलगायतका पाटनमा यार्सागुम्बा पाइन्छ । सरकारले उक्त निर्णयले झन जोखिम निम्त्याउने डोल्पाकी सांसद् बदमीक्वारी बोहोराले बताइन् । ‘मानव स्वास्थ्यभन्दा सम्पत्ति ठूलो हुँदैन,’ उनले भनिन्, ‘भोकले मान्छे मर्दैन । रोगले मर्छ ।’ यार्सा संकलन गर्दा एउटा पालिकाबाट मान्छे अर्काे पालिमा जानुपर्ने भन्दै उनले यस निर्णयले जनताको स्वास्थ्य जोखिम हुने बताइन् ।

मानवीयभन्दा आर्थिक क्षति ठूलो नभएको भन्दै उनले सरकारले जनताको जीवन सुरक्षाका लागि काम गर्नुपर्ने बताइन् । यसकोको यार्सागुम्बा संकलनका लागि पाटन खुला गर्ने निर्णयले सुरक्षा चुनौती थपिने उनको भनाइ छ । मुगुकी सांसद झोवा विकले भनिन्, ‘अन्यबेला पनि यार्सागुम्बा टिप्न गएका मान्छे मर्छन् । यतिबेला त झन धेरै मर्न सक्छन् । तत्काल यार्सागुम्बा खुलाउने निर्णय उचित छैन ।’

साथै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत कर्णाली प्रदेश विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन (पहिलो संशोधन ) नियमावली २०७७ स्वीकृत गरिएको छ ।  

खाद्य सुरक्षाका लागि उत्पादन विशेष कार्यक्रम तथा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ समेत स्वीकृत भएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । संक्रमण फैलिएका दैलेख, सल्यान, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, कालीकोट र जुम्लाका केही स्थानीय तहका अस्पताल, स्वास्थ्य केन्द्र र अन्य उपयुक्त स्थानमा आइसोलेसन वेड तयारी गर्ने निर्णय भएको उनले बताइन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App