खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेलाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्ने प्रयास थालिएको छ । कागतीको सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकाले आईतबार बतासेका चार कृषक समूहमा आवद्ध किसानलाई उन्नत जात मानिने ‘सुन कागती १’ प्रजातीको कागतीको विरुवा बाँडेको छ । पकेट क्षेत्रकारुपमा गरिने कागती खेतीबाट किसानलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप धनकुटाबाट १ लाख ५ हजारको ३ हजार ५ सय बोट बेर्ना ल्याएर किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
पकेट क्षेत्रकारुपमा बिकास गर्नका लागि स्थानीय हरियाली कृषक समूह, राम्चे हरियाली कृषक समुह, देविस्थान कृषक समुह र खावासी कृषक समूहलाई प्रतिसमुह ८७५ वटाका दरले कागतीको विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शहरबाट भारी बोकेर गाउँबाट रित्तो फर्कने ट्रकमा स्थानीय उत्पादन निर्यात गर्ने लक्ष्यकासाथ बतासेमा कागतीको पकेट क्षेत्र विस्तारको काम थालिएको हो । ‘बियर, चाउचाउजस्ता सामान बोकेर आउने मालवाहक सवारी साधनमा कृषिजन्य उत्पादन भरेर पठाउनु पर्छ अनि मात्र संवृद्धि सम्भव छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यसका लागि गाउँपालिकामा किवी, सुन्तला, लिची र कागतीको पकेट क्षेत्र बनाउने, बाख्रा र बंगुर पालन गर्ने अभियान सुरु गरेका छौँ ।’
कृषि तथा पशु विकास कार्यक्रम अन्तरगत कागतीको पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ४० हजार विनियोजन गरेको थियो । कागतीको पकेट क्षेत्र विस्तारका लागि चार वटा कृषक समूहले पनि ४८ हजार लगानी गरेको गाउँपालिकाका कृषि प्राविधिक लक्ष्मीप्रसाद रेग्मीले बताए । कागतीको बेर्ना बतासेका वडाध्यक्ष, कृषि प्राविधिक रेग्मी लगायतले किसानलाई वितरण गरेका थिए ।
प्रकाशित: १८ जेष्ठ २०७७ १६:०१ आइतबार





