१६ चैत्र २०८० शुक्रबार
अर्थ

उद्योग तथा पर्यटन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामा उद्योग क्षेत्रका कार्यक्रमको निरन्तरताका साथै पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ।

प्रदेश सरकारले नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटारमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्न पूर्वाधार निर्माणको कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए। एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने कार्यक्रमलाई पनि प्राथमिकताका आधारमा निरन्तरता दिइने मन्त्री गुरुङको भनाइ छ।

सीपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमका माध्यमबाट लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने सरकारको योजना छ। सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रसमेतको सहभागितामा सञ्चालन हुने धौवादी फलाम कम्पनीमा प्रदेश सरकारको तर्फबाट लगानी गर्न बजेट विनियोजन गरिने मन्त्री गुरुङले जानकारी दिए।

कोरोना महामारीको कारण शिथिल पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न ऋणमा पुनर्तालिकीकरण, ब्याजमा अनुदान तथा थप कर्जा प्रवाह गर्न गराउन बैंकिङ तथा वित्तीय संस्थालाई समन्वय र सहजीकरण गर्ने तथा प्रदेशको स्रोत र साधनको आधारमा विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।

वनको दिगो व्यवस्थापनमार्फत वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र उपयोग गर्दै काष्ठ तथा वन पैदावारमा आधारित आयात प्रतिस्थापन, आयआर्जन र रोजगारी सिर्जना गर्ने उद्योगको स्थापनामा जोड दिइने उल्लेख गर्दै मन्त्री गुरुङले जैविक विविधता तथा वन्यजन्तुको संरक्षण गरिने जानकारी दिए।

भू तथा जलाधार संरक्षण, पहिरो नियन्त्रण, भूक्षय न्यूनीकरण तथा जलवायु अनुकूलन कार्यक्रम सञ्चालनमा जोड दिइने उल्लेख गर्दै उहाँले ताल तथा सिमसार क्षेत्रलाई संरक्षण गर्न ताल प्राधिकरण र विज्ञान प्रविधिको अनुसन्धान गर्न विज्ञान प्रविधि प्रतिष्ठान साथै पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिइने बताए। प्रदेशभित्रको आपूर्ति व्यवस्थालाई सहज, सरल र नियमित बनाउन तथा कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न बजार अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको योजना छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App