कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि अवरुद्ध भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खुलेको सडक दोस्रो पटकको हिमपातसँगै पुनः बन्द भएको हो।
सिञ्जाबाट मुगु जोड्ने यो सडक हिउँद सुरु भएसँगै बन्द हुने पुरानै नियतिमा फर्किएको छ। मुगुका लागि हिउँ पर्नु असामान्य होइन, तर हरेक वर्ष हिउँ पर्नासाथ सडक बन्द हुनु राज्यको पूर्वतयारीमाथि गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।
सडक बन्द भएसँगै मुगु बाहिरी जिल्लासँगको आवतजावत लगभग ठप्प भएको छ। सवारी साधन चल्न सकेका छैनन्। इन्धन ढुवानी रोकिएको छ भने बिरामी बोकेका एम्बुलेन्ससमेत अघि बढ्न नसक्ने अवस्थामा पुगेका छन्। सडक अवरुद्ध हुनु यहाँ केवल यात्राको असहजता मात्रै होइन, स्वास्थ्य, आपूर्ति र सुरक्षा सबै एकैचोटि जोखिममा पर्नु हो।
सवारी चल्ने आशामा बसेका मुगुवासी अहिले हिउँमाथि पैदल हिँड्न बाध्य छन्। जमेको हिउँ र चिसो हावाबीच भारी बोकेर यात्रा गर्नु उनीहरूको दैनिकी बनेको छ। सातमाडका एक यात्रु भन्छन्, “सवारी चल्ने आशा थियो, तर हिउँ झन् बढ्दै गयो। हिँड्नुबाहेक विकल्प रहेन।”
मुगु जिल्लामा हिउँ पन्छाउने उपकरण उपलब्ध छैन। सडक बन्द भएपछि प्रशासनले छिमेकी जिल्ला जुम्लासँग सहयोग माग्नुपर्ने अवस्था छ। पहिलो पटकको हिमपातपछि सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर मगाएर झन्डै तीन किलोमिटर सडक खण्डमा जमेको बाक्लो हिउँ हटाइएको थियो।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार जिल्लामै डोजर नहुँदा सडक खुलाउन ढिलाइ भयो। “जुम्लाबाटै डोजर ल्याएर सडक खोल्नुबाहेक अर्को उपाय थिएन,” उनले भने।
डोजर सञ्चालनपछि पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेन। ठूला मालवाहक सवारी साधन सहज रूपमा चल्न सकेनन्। कतिपय गाडी डोजरले तानेरै जुम्लातर्फ पठाइएको थियो।
माघ १२ गतेदेखि सडक पूर्ण रूपमा सुचारु भए पनि त्यो अवस्था दीर्घकालीन हुन सकेन। माघ १४ गते रातिदेखि वर्षासँगै परेको हिमपातले सडक पुनः अवरुद्ध गर्यो। हाल सवारी साधन पूर्ण रूपमा ठप्प छन्।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउन सकिने अवस्था छैन। हिउँ रोकिने बित्तिकै डोजर परिचालन गरिने भनिए पनि यात्रुहरू बीचैमा अलपत्र परेका छन्।
स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। तर मुगुजस्ता दुर्गम जिल्लामा ‘नहिँड्नु’ भन्ने सुझाव आफैंमा व्यावहारिक नहुने स्थानीयको भनाइ छ।
नाग्म–गमगडी सडक बन्द हुनु प्राविधिक समस्या मात्रै होइन, यो पूर्वतयारी र नीतिगत बेवास्ताको परिणाम भएको स्थानीयको बुझाइ छ। हिउँ पर्ने भूगोलमा हिउँ पर्दा सडक खुला राख्न नसक्नु स्वाभाविक देखिए पनि हरेक वर्ष उही ठाउँमा उही समयमा उही समस्या दोहोरिनु राज्यको असफलता भएको उनीहरूको भनाइ छ।
यात्रुहरूले हिउँदभर नाग्म र गमगडी दुवैतर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन्। मौसम विज्ञान विभागले अझै हिमपातको सम्भावना रहेको जनाएको अवस्थामा यो माग झन् सान्दर्भिक देखिएको छ।
यद्यपि, हिमपातले कर्णालीका किसानहरू भने उत्साहित छन्। बालीका लागि हिउँ उपयोगी मानिन्छ। तर सडक बन्द हुँदा त्यो लाभ धेरैका लागि संकटमा रूपान्तरण भएको छ।
मुगुका लागि सडक केवल पूर्वाधार होइन, जीवनरेखा हो। हिउँ पग्लिएपछि सडक फेरि खुल्ला होला, सवारी चल्लान् र जनजीवन बिस्तारै सामान्य बन्ला। तर तयारी, उपकरण र दृष्टिकोण नबदलिँदासम्म यो दृश्य फेरि–फेरि दोहोरिने निश्चित देखिन्छ।
मुगुवासीका लागि बाटो खुल्नु भनेको केवल यात्रा सहज हुनु होइन, राज्यसँग जोडिएको भरोसा खुल्नु हो।
हाल सडकमै डोजर तयारी अवस्थामा राखिएको छ। हिउँ रोकिएपछि मात्रै सडक खुलाउने काम सुरु गरिने जनाइएको छ। अहिले मुगुदेखि जुम्ला, सुर्खेत र नेपालगञ्ज जाने सवारी साधन चल्न सकेका छैनन्। नेपालगञ्ज, सुर्खेत र जुम्लाबाट मुगु जाने गाडीहरू समेत बीचैमा रोकिएका छन्।
यो पटक जुम्लामा दोस्रो पटक हिमपात भएको हो। हिमपातका कारण बिहानैदेखि सडक र हवाई मार्ग दुवै अवरुद्ध भएका छन्।
प्रकाशित: १४ माघ २०८२ २१:१४ बुधबार





