६ चैत्र २०८० मंगलबार
अर्थ

कोरोनाको अर्थतन्त्रमा प्रभावः १६८ अर्ब नोक्सानी हुने

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाई रहेकाबेला मुलुकको अर्थतन्त्र पनि यसको चपेटमा परेको छ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने र कूल ग्राहस्थ उत्पादनमा समेत नोक्सानी हुने भएको हो।  

मुलुकमा कोभिड–१९ को संक्रमण फैलिनुअघि राष्ट्र बैंकले चालु आवमा ७ प्रतिशतले आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा  केहीदिन अघि केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको २ दशमलव २८ प्रतिशत आर्थिक वृद्धिदर प्रेक्षपणसँग तुलना गर्दा यो वर्ष कूल ग्राहस्थ उत्पादनमा करिब एक सय ६८ अर्ब रुपैयाँ नोक्सानी हुने प्रारम्भीक अनुमान गरिएको हो।  

मुलुकले विगत तीन वर्षदेखी औषत ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै आएकोमा चालु आवमा कोभिड–१९ को कारण आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा खुम्चीने भएको जनाइएको छ।  

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन अनुसार चालु आवमा धान उत्पादन घट्नुका साथै महामारी कारण उत्पादन तथा आपुर्ति प्रणाली प्रभावित हुनेछन्।  

उत्पादन र आपुर्ति प्रणाली प्रभावित भएपनि खानी तथा उत्खनन्, उत्पादन, निर्माण, होटल तथा रेष्टुरेन्ट, यातायत लगायतका क्षेत्रमा समेत आर्थिक वृद्धि ऋणात्मक रहने राष्ट्र बैंकको अनुमान छ।  

चालु आवमा कूल गार्हस्थ उत्पानदनसँग उपभोगको अनुपात बढ्ने र कूल राष्ट्रिय बचत, कूल स्थिर पूँजी निर्माण र साधन अन्तरको अनुपात घट्ने अनुमान गरिएको छ।  

मुद्रास्फिति ६.५ प्रतिशत

चालु आर्थिक वर्षमा वार्षिक औषत उपभोक्ता मुद्रास्फिती ६ दशमलव ५ प्रतिशत रहेको छ। वार्षिक ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा नौ महिनाको अवधीमा ६ दशमलव ५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।  

वार्षिक विन्दुगत आधारमा चालु आवको चैत मसान्तसम्म उपभोक्ता मुद्रास्फिती ६ दशमलव ७ प्रतिशत रहेको छ। अघिल्लो आवको सोही अवधीमा उपभोक्ता मुद्रास्फिती ४ दशमलव ४ प्रतिशत थियो।  

व्यापार घाटा ८ दशमलव ९ प्रतिशत कम

चालु आवको नौ महिनाको अवधीमा व्यापार घाटा ८ दशमलव ९ प्रतिशतले घटेको छ। चालु आवमा निर्यात १२ दशमलव ९ प्रतिशतले वृद्धी भएको र आयात ७ दशलमव ५ प्रतिशतले घटेका कारण व्यापार घाटा कम भएको हो।  

राष्ट्र बैंकका अनुसार सो अवधीमा ७ अर्ब १६ करोड रुपैयाँको निर्यात भएकोमा करिब १ सय अर्ब ९० करोड रुपैयाँको आयात भएको छ। अघिल्लो आवको सोही अवधीकामा १७ अर्ब ३१ करोडको निर्यात र २ सय २९ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो।  

चालु आवको नौ महिनाको अवधीमा निर्यातमा वृद्धि, न्यून आयात, बाह्य ऋण परिचालन र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएका कारण शोधनान्तर स्थिती बचतमा रहेको जनाइएको छ।  

राष्ट्र बैंकका अनुसार समीक्षा अवधीमा चालु खातामा एक सय ३५ अर्ब ५४ करोड रुपैयाँ घाटामा रहेको छ भने शोधनान्तर स्थिती ३६ अर्ब ६१ करोड रुपैयाँ छ।  

त्यसैगरी, चालु आवको मौद्रिक नितीले विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशतमा सिमीत गर्ने लक्ष्य लिइएकोमा चैत मसान्तसम्म १५ दशमलव ३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

चालु आवको नौ महिनाको अवधीमा कुल आन्तरिक कर्जाको वृद्धिदर १४ दशमलव २ प्रतिशत रहेको छ। सोही अवधीमा निजी क्षेत्रको कर्जा वृद्धिदर १५ दशमलव ४ प्रतिशत छ।  

समीक्षा अवधीमा राष्ट्र बैंकले  विदेशी विनीमय बजारवाट २ अर्ब ६७ करोड डलर खरिद गरी ३ सय ५ अर्ब ८६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको जनाएको छ।  

सो अवधीमा १३ सय ७८ र्ब ८० करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ। २७ वाणिज्य बैंकले १२ सय ६२ अर्ब २७ करोड तथा अन्य वित्तीय संस्थाले १ सय १६ अर्ब ५३ करोड रुपैयाँको अन्तर बैंकिङ् कारोबार गरेका हुन्।  

त्यसैगरी, वाणिज्य बैंकहरुले प्रवाह गरेको कूल कर्जाको १० प्रतिशत कृषिमा, ५ दशमलव ३ प्रतिशत उर्जामा र ४ दशमलव ९ प्रतिशत पर्यटन क्षेत्रमा लगानी भएको छ।  

राष्ट्र बैंकका अनुसार सो अवधीमा वाणिज्य बैंकले कृषि क्षेत्रमा २ सय ६६ अर्ब, उर्जामा १ सय ४० अर्ब र पर्यटनमा १ सय ३० अर्ब रुपैयाँ लगानी गरेका छन्।  

घट्दै रेमिट्यान्सको आकार

गत वर्षको चैत मसान्तदेखी चालु आवको वैशाख महिनासम्म करिब ७५ अर्ब ४८ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अघिल्लो आवको सोही अवधीमा १ सय ४३ अर्ब ११ करोड रुपैयाँ विप्रेषण आएको थियो।  

चालु आवको नौ महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब रुपैया कर्जा लगानी गरेका छन्।  

 

 

 

 

 

 

 

 

प्रकाशित: १३ जेष्ठ २०७७ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App