२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

स्थानीय तहको गौरवको योजना पनि प्रभावित

केपीलासगढी गाउँपालिकाको निर्माणाधीन भवन । तस्बिर ः दमन राई÷नागरिक

खोटाङको खोटेहाङ गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वडाको विद्युतीकरणका लागि चालु आर्थिक वर्ष ७५ लाख विनियोजन गरेको थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा विद्युत विस्तारका लागि सम्बन्धित वडाबाट पनि १० लाखको हाराहारीमा बजेट व्यवस्था गरिए ।

सोही आयोजनाका लागि प्रदेश सरकारले विशेष अनुदान बापत एक करोड उपलब्ध गराएपछि गाउँपालिकाले टेण्डर आह्वान ग¥यो । तर, कोरोना भाइरसको महामारी सुरु भएकाले कुनै पनि निर्माण कम्पनीको आवेदन परेन । पुःन ठेक्का आह्वानको प्रकृया लामो भएकाले दोश्रो पल्ट टेण्डर खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

‘विद्युतका लागि टेण्डर खुलाइयो तर आवेदन परेन । पुःन आवेदन खुलाउनलाई लामो प्रोसेस चाल्नुपर्ने रहेछ,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाको बजेट सञ्चित कोषमा फर्काएर अर्को वर्ष काम गर्ने तयारी गरिएको छ । तर प्रदेशको बजेटलाई कसरी उपयोगमा ल्याउने भन्ने बारेमा छलफल गर्दैछौँ ।’  

कोरोना भाइरसको महामारीका कारण ३२ लाख ११ हजार ५ सयको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित दिहुँ खोला खानेपानी योजना, गारेखोला खानेपानी पम्पिङ आयोजना, ४० लाखको रसुवा–पानधारे सडक संरचना निर्माण लगायतका गाउँपालिकाको गौरवको आयोजना प्रभावित भएको छ ।  

कोरोना भाइरसको महामारी नहुँदो हो त दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गौरवको आयोजनाका रुपमा अघि बढाइएको धिप्लुङ झरना सौन्दर्यकरणको काम हाल अन्तिम चरणमा पुगिसकेको हुन्थ्यो । तर, कोरोना भाइरसको महामारीका कारण झरना सौन्दर्यकरणको काम पछाडि धकेलिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

‘यो बेलासम्ममा सम्पन्न नभए पनि झरना सौन्दर्यकरणको काम अन्तिम चरणमा पु¥याइसक्थ्यौं,’ अध्यक्ष राईले भने, ‘महामारीले गाउँपालिकाको गौरवको योजनालाई असर ग¥यो । यो आर्थिक वर्ष सकिने लक्ष्य अधुरो रहने निश्चित भएको छ ।’ यही आर्थिक वर्ष पुरा गर्नेगरी थालिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोला पुलको दुईतर्फको पिलर ठड्याउने काम मात्र पुरा हुने देखिएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटमा नदीको पानी तान्नका लागि सुरु गरिएको पम्पिङ आयोजनाको कामलाई समेत असर पुगेको छ । ‘यो आवमा सक्ने लक्ष्यका साथ सुरु गरिएको गौरवका आयोजनाको काम अर्को आर्थिक वर्षमा धकेलिने अवस्था आएको छ,’ अध्यक्ष राईले भने, ‘अन्य साना योजनाको हिसाबकिताब छैन । ठूलादेखि सबै खुद्रे योजनाको कामलाई असर गरेको छ ।’  

कोरोना भाइरसको महामारी फैलिन थालेपछि खोटाङका १० वटै स्थानीय तहको गौरवको योजनाको काम प्रभावित भएको छ । यो आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको ठूला तथा साना विकास निर्माणका योजनाको काम अर्को वर्ष धकेलिदैछ । असार मसान्त नजिकिँदै गर्दा जारी लकडाउनका बीचमा विकास निर्माणका योजनाको काम सुचारु गराउने प्रयास भइरहेको भए पनि स्थानीय तह निर्धारित लक्ष्य पुरा गर्न सक्ने अवस्थामा नभएको स्वयं जनप्रतिनिधिहरु बताउँछन् ।  

कोरोनाका कारण साकेला गाउँपालिकाको साप्सु–पानधारे सडक, नैनेपाटी–मानेभञ्ज्याङ–काल्चिङ खोला सडक, कात्तिके सोस्तुङ–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक, वडा–वडामा विद्युत विस्तार लगायतका योजना प्रभावित भएको छ । यस्तै, पञ्चनहर सिंचाई योजना, गाउँफर्क कुलो सिंचाई योजना, भालुखोप सिंचाई योजना लगायतका योजना प्रत्यक्ष प्रभावित भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । 

यस्तै, केपीलासगढी गाउँपालिकाको सप्तेश्वर–कादेल–तापखोला मोटरेबल पुल, बाक्सिला– सिप्तिली बोबे–सुंदेल–साल्पा सडक, बाक्सिला–बासपानी–फेली सडक, बाक्सिला रंगाशाला निर्माण, बाक्सिला–दिप्सुङ मोटरेबल पुल, गाउँपालिकाको भवन निर्माण लगायतका योजनाको काम प्रभावित भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । 

यस्तै, रावाबेंसी गाउँपालिकाको बिजुले–लेखर्क–दुवेकोल–ऐसेलुखर्क सडक, हरम्टार खानेपानी योजना, गाउँपालिका गेट तथा फूलबारी निर्माण, महिला जनप्रतिनिधिका लागि भाषणकला एवं कम्प्यूटर तालिम लगायतका योजनाको काम प्रभावित भएको सो गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App