७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोराना प्रभावः एक खर्ब ६८ अर्ब क्षति

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लामो समय मुलुकमा लकडाउन हुँदा करिब एक खर्ब ६८ अर्ब रुपैयाँ क्षति भएको छ।  सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन अनुसार केही ठूला परियोजना बाहेक अधिकांस उद्योग, कल–कारखाना वन्द भएका कारण करिब दुई महिनाको अवधीमा उक्त क्षति भएको हो।  

प्रतिवेदन अनुसार कोरोना भाइरस संक्रमण बढ्नु अघि करिब सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएपनि कोरोना कारण मुलुकको अर्थतन्त्रमा परेको असरपछि आर्थिक वृद्धि न्यून रहने उल्लेख गरिएको छ।  

कोभिड–१९ कारण खानी तथा उत्खनन्, उत्पादन, होटेल तथा रेष्टुरेन्ट लगायत यातायात ठप्प रहेकाले उक्त क्षति भएको जनाइएको छ।  

रेमिट्यान्स ४ प्रतिशत घट्यो

विश्वभरी कोरोना भइरस संक्रमण फैलिएसँगै मुलुकमा भित्रिने रेमिट्यान्समा असर पर्न सुरु गरेको छ।  

रेमिट्यान्सको मुख्य श्रोत खाडि मुलुक, कोरिया, मलेसिया लगायत नेपाली कामदार कार्यरत मुलुकमा कोरोनाका कारण काम ठप्प भएपछि मुलुक भित्रिने रेमिट्यान्स रकम घटेको हो।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिती अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।  

कोरोना भाइरसका नेपाली कामदार कार्यरत मुलुकमा पनि असर परेकाले अधिकांस कम्पनीहरु वन्द भएका कारण विदेशवाट आउने विप्रेषण (रेमिट्यान्स) घटेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

‘नेपाली कामदार कार्यरत मुलुकहरु कतार, साउदी अरेयिबा, दुबई, मलेसिया, कोरिया लगायतका मुलुक लकडाउन भएका कारण यी मुलुकवाट भित्रिने रेमिट्यान्स रकम घटेको छ’ उनले भने, ‘चालु आवको चैत मसान्तसम्म करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ। उक्त रकम गत आवको सोही अवधीको तुलनामा करिब चार प्रतिशत कम हो।’

चालु अवाको फागुन महिनाको तुलनामा चैतमा आधा रमिट्यान्स घटेको उनले बताए। फागुन मसान्तसम्म करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा चैतमा साढे ३४ अर्ब रुपैयाँ आएको उनले बताए।  

चालु आवमा रेमिट्यान्स करिब १० प्रतिशत घट्ने अनुमान राष्ट्र बैंकले गरेको छ।  

महङ्गी २.३ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बजार भाउ (मूल्य वृद्धिदर) २.३ प्रतिशतले बढेको छ।  

अघिल्लो आवको चैत मसान्तसम्म मूल्य वृद्धिदर ४.४४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधीमा ६.७४ प्रतिशत पुगेको हो।  

बंैक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले चालु आवमा मूल्य वृद्धिदर ६ प्रतिशतमा सिमीत राख्ने लक्ष्य लिएपनि छिमेकी मुलुक भारतमा भएको मूल्य वृद्धिका कारण नेपालको पनि यसको असर परेको प्रतिवेदनमा उल्लेख गरेको छ।  

प्रतिवेदन अनुसार चालु आवको चैत मसान्तसम्म खाद्य तथा पेय पदार्थको तरकारी, माछा, मासु, दाल, मसला, गेडागुडीको ९.६८ प्रतिशत मूल्य वृद्धि भएको छ भने गैर खाद्य तथा सेवा अन्तर्गत शिक्षा, स्वास्थ्य, कपडालगायतको मूल्य वृद्धिदर ४.४८ प्रतिशत छ।  

विदेशी विनिमय सञ्चिती ११.३ प्रतिशत बढ्यो

चालु आवको चैत मसान्तसम्म विदेशी विनिमय सञ्चीति ११ दशमलव तीन प्रतिशत बढेको छ।  

गत आवको असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड विदेशी विनीमय सञ्चीती रहेकोमा चालु आवको चैत मसान्तसम्म ११ अर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो।  

विदेशी लगानी दुई गुणा बढ्यो

मुलुक करिब दुई महिना लामो लकडाउनमा परे पनि विदेशी लगानी भने बढेको छ। राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनाका अवधीमा करिब १६ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी (एफडिआई) नेपाल भित्रिएको छ। उक्त रकम गत आवको सोही अवधीको तुलनामा करिब नौ अर्बले बढी हो। गत आवको सोही अवधीमा करिब ७ अर्ब १० करोड रुपैयाँ विदेशी लगानी आएको थियो।  

त्यसैगरी, चालु आवको नौ महिनाको अवधीमा विस्तृत मुद्राप्रदाय ८.९ प्रतिशतले बढेको छ। अघिल्लो आवको सो अवधीमा ९. ३ प्रतिशत रहेकोमा चालु आवको चैत मसान्तसम्म १५. ३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।  

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो

चालु आवको नौ महिनाको अवधीमा बैंक तथा वित्तिय संस्थाको निक्षेपमा वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्सम्म  बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ।  

अघिल्लो आवको सोही अवधीमा १०.६ प्रतिशत निक्षेप रहेकोमा चालु आवको सोही अवधीमा करिब १६.९ प्रतिशत पुगेको छ।  

त्यसैगरी, निजी क्षेत्रको कर्जा ११.५ प्रतिलतले वृद्धि भएको छ। कर्जाको वृद्धिदर १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।  

आयात घट्यो, निर्यात बढ्यो

चालु आवको चैत मसान्तसम्म आयात ७.५ प्रतिशतले घटेको छ भने निर्यात १२.९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार नौ महिनाको अवधीमा करिब नौ सय ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ। उक्त रकम गत आवको सोही अवधीमा तुलनामा करिब साढे सात प्रतिशत कम हो।

लकडाउनका कारण कच्चा पाम तेल, रासायनि मल, कच्चा सोयिविन, पेट्रोलियम पदार्थ लगायत कम आयात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

त्यसैगरी, सो अवधीमा १२.९ प्रतिशतले निर्यातमा वृद्धि भएको राष्ट्र बंैकले जनाएको छ। सो अवधीमा करिब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर निर्यात भएको हो।

 

प्रकाशित: ५ जेष्ठ २०७७ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App