'मलेसियाले सुरक्षागार्डमा नेपालीलाई लिन थालेको छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले बुधबार नागरिकसँग भने, ...सेवामूलक क्षेत्रमा नेपालीलाई लिनु सकारात्मक हो।' उनले मलेसियाले विदेशबाट सुरक्षागार्डको रुपमा नेपालबाट मात्र लिने जानकारी दिए।
मलेसियाको टिम फोर्सले ६० जना सुरक्षागार्डको कामदार माग गरेर पठाएको छ। उसले पठाएको माग खगोल ओभरसिज र एसभिएस एसोसिएट्सले ३०/ ३० जना पाएका छन्। यस्तै फ्युजन इन्टरनेसनन प्रालिले समेत तीस जना सुरक्षा गार्डको माग ल्याएको छ। खगोल ओभरसिजका प्रबन्ध निर्देशक विमल ढकालले एक महिनाअघि सुरक्षागार्डको माग आएको जानकारी दिए।
'तीस जनामध्ये ११ जनाको भिसासमेत आइसकेको छ,' ढकालले बिहीबार नागरिकसँग भने, 'अरु कामदारको पनि प्रक्रियामा छ। यो अत्यन्तै नेपालीका लागि राम्रो रोजगार क्षेत्र भएकाले उत्साहित बनाएको छ।'
उनले सुरक्षा गार्डमा रोजगारीमा पठाउँदा नेपाली सेना र प्रहरीलाई मात्र पठाउनुपर्ने प्रावधानलाई दोहोर्याएको जानकारी दिए।
विगतमा सुरक्षा गार्डमा गएका कामदार सेना र प्रहरीभन्दा बाहिरका व्यक्ति गएर समस्या परेको थियो। 'मलेसियामा सबैभन्दा राम्रो रोजगारीमा सुरक्षा गार्ड पर्छ,' खनालले भने, 'त्यसैले हामी सुरक्षागार्डको रुपमा पठाउँदा अन्य क्षेत्रको पठाउने कार्यलाई रोक्नुपर्छ होइन भने फेरि मलेसियाले रोक्नसक्छ।' विदेशबाट नेपालीलाई मात्र सुरक्षागार्डमा लिने मलेसियाको नीति उनले जानकारी दिए। 'पहिलो उनीहरुको नागरिक र विदेशबाट नेपालीले सुरक्षा गार्डमा काम पाउनेछन्,' उनले भने।
त्यहाँ सुरक्षा गार्डको काम गर्नेले सैन्य तालिम अनिवार्य लिएको वा यससम्बन्धी जानकारी लिएको हुनुपर्ने कानुनी व्यवस्था छ। तर, यसको प्रभावकारी कार्यान्वयन भएको छैन। सैन्य तालिम लिएकाले १ हजार ५ सय रिंगिट पाउँछन्। तालिम नलिएकाले मासिक ९ सय रिंगिटमात्र पाउँछन्। नेपालबाट सुरक्षागार्डको रुपमा गएकाहरु सेना र प्रहरीका नभएकोले समस्या पर्दै आएको छ ।
मलेसियाले स्थानीय संस्थाको दबाबमा सुरक्षा गार्डका रूपमा नागरिक सुरक्षा स्वयंसेवक दस्ता (रेला) र नागरिक सुरक्षा दस्तामा कार्यरत स्थानीय अधिकारीलाई मात्र रोजगार दिने नीति लिएको थियो। उही नीति अनुसार सुरक्षागार्ड नेपाली जान रोकिएका थिए।
मलेसियाले तीन वर्षदेखि नेपालीलाई मात्र सुरक्षा गार्ड लिँदै आएको थियो। संघका अनुसार ७० हजार नेपाली सुरक्षा गार्डको काम गर्छन्। सेक्युरिटी गार्ड एसोसिएसन अफ मलेसिया (एसएसएएम) लेे त्यहाँ १५ हजार नेपाली सुरक्षा गार्ड गैरकानुनी रूपमा काम गरिरहेको दाबी गरेको थियो। तीन वर्षअघि मलेसियाले बंगलादेश, श्रीलंका र पाकिस्तानबाट सुरक्षा गार्ड लिने गरेको थियो।
पाकिस्तानी सुरक्षा गार्डले एक स्थानीय महिलाको बलात्कार गरेपछि उनीहरूले अन्य मुलुकबाट सुरक्षा गार्ड लिन रोक लगाएका थियो। त्यसपछि दुई वर्ष नेपालीले पनि त्यो अवसर पाउँदै आएका थिए। एक वर्षअघि मलेसियाले फेरि स्वदेशीलाई रोजगारी दिने भन्दै नेपालीलाई रोकेका थिए।
मलेसिया सरकारले केही दिनअघि विदेशी सुरक्षा गार्डलाई विस्थापित गर्दै स्वयंसेवक दस्ता प्रयोग गर्न सकिने प्रस्ताव ल्याएपनि यो प्रभावकारी बन्न सकेका थिएन। नागरिक सुरक्षा दस्ता मलेसियाको पूर्वसेना र प्रहरीको संगठन हो भने रेला अर्धसैन्य बल हो। यसले त्यहाँ गुप्तचरको काम गर्दै आएको थियो। रेलाले अवैध रूपमा कार्यरत विदेशी कामदारलाई समातेर सरकारबाट निश्चित रकम लिने गर्थ्यो।
नेपालमा रहेका वैदेशिक रोजगारदाताका अनुसार सिंगापुरबाट मलेसिया गएका नेपालीहरू अवैध रूपमा बसेका छन्। व्यवसायीका अनुसार सिंगापुरबाट १५ दिनको भिसा लगाएर मलेसिया पुगेकाहरू त्यहीं लुकेर काम गर्ने प्रवृत्ति छ। त्यहाँको एसोसिएसनका अनुसार मलेसियामा ४ हजार ९ सय नेपाली सुरक्षागार्ड कानुनसम्मत काम गरिरहेका छन्।
प्रकाशित: २१ माघ २०६७ ०२:१० शुक्रबार


-600x400.jpg)


