सिन्धुलीको सुनकोसी-३ की विन्दामाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ, त्योभन्दा बढी राज्यबाटै भएको अन्यायले दुखेको छ। कसैले घटनाका बारेमा सोध्यो कि उनी झर्कन्छिन्। मंगलबार नागरिक पुग्दा उनी यस्तै स्थितिमा भेटिइन्।
वैशाख ७ गते सिन्धुली खुर्कोटस्थित प्रहरी हिरासतमा रहेका २२ वर्षीय छोरा श्रीकृष्ण विकको मृत्यु भएको खबर सुनेपछि उनको यो अवस्था आएको हो। घटना भएको २२ दिन बितिसक्दा पनि मृत्यु हुनुको प्रमाण तथा कारण पाउन नसकेपछि विकसहित आफन्त माइतीघरमा गत वैशाख १२ देखि धर्नामा छन्। उनीहरू बुधबार पनि धर्नामै भेटिए।
घटना विवरणअनुसार मृतक विक विन्दुमायाका माइला छोरा हुन्। उनी राजधानीमा चालकका रूपमा काम गर्थे। दुई वर्षदेखि खोटाङकी १८ वर्षीय मगर थरकी युवतीसँग प्रेममा थिए। आपसमा विवाह गर्ने सहमति बनेपछि गत चैत २८ देखि सँगै बस्न थाले। औपचारिक रूपमा वैवाहिक जीवनमा बाँधिन नयाँ वर्षको अवसर पारेर उनीहरू विकको स्थायी घर सिन्धुली पुगे। सम्बन्धका बारेमा श्रीकृष्णले आमालाई पहिल्यै बताएका थिए।
मृतक विकका भिनाजु जयकृष्णका अनुसार वैशाख ३ गते माइती पक्षले केटी हराएको र बलात्कार गरेको आरोपमा सातदोबाटोस्थित प्रहरीसमक्ष उजुरी दिए। प्रहरीले श्रीकृष्णलाई सम्पर्कमा आउन खबर पठायो। घरबाट केटीका काकाले उनलाई सातदोबाटो प्रहरीसमक्ष आउन मेसेज गरे। सोही दिन पाँच बजे यो जोडी सातदोबाटोस्थित प्रहरीसमक्ष पुग्यो। केटी पक्ष भने सात बजे मात्र चौकी आइपुग्यो। केटीले राजीखुसीले विवाह गरेको प्रहरीसमक्ष बताइन्। लगत्तै केटीका काकाले भतिजीको उमेर पुगेको छैन भनी उनको केटा साथीलाई बोलाएर आधा घन्टा छुट्टै कुरा गरे। त्यसपछि केटी बाहिर निस्किइन्। केटीका दाइ र काकाले केटीलाई घर जाऊँ भने। बिचैमा मृतकका भिनाजु जयकृष्णले केटीलाई सोधे। केटीले श्रीकृष्णलाई थुनामा नराख्ने हो भने घर गएर आउँछु भनिन्। लगत्तै केटीको दाइ आएर युवतीलाई घर लगे। त्यसपछि महिला प्रहरीले श्रीकृष्णलाई अर्को कोठामा लगेर कुरा गरिन्।
प्रहरीमा छलफल बाँकी नै थियो। प्रहरीले केटापक्षलाई घर जानू भन्यो, तर केटापक्ष १० बजेसम्म चौकीमा जबर्जस्ती बस्यो। प्रहरीले केटीसँग राति १२ बजेसम्म छलफल जारी राख्यो। प्रहरीले केटा पक्षलाई भोलिपल्ट १० बजे चौकी आउनू भन्दै बिदा गर्यो।
भोलिपल्ट आफन्त पुग्दा गेटको प्रहरीले अहिले भेट्न पाइँदैन भन्यो। भोलिपल्ट बिहान आठ बजे नै प्रहरीले श्रीकृष्णलाई सिन्धुली चलान गरिसकेको थियो तर प्रहरीले यो खबर दिउँसो मात्र दियो। श्रीकृष्णका आफन्त भोलिपल्ट सिन्धुली पुगे। श्रीकृष्णलाई सुनकोसी गाउँको चौकी नभई खुर्कोट इलाका प्रहरी चौकी पुर्याएको थियो। त्यहीं नै वैशाख ५ र ६ गते आफन्तले निरन्तर भेटे। सातदिने म्याद थपेको र सोहीअनुसार प्रक्रिया अघि बढ्ने प्रहरीले आफन्तलाई बतायो। ७ गते प्रहरीले बयानका लागि सिन्धुली प्रहरीसमक्ष लैजान भन्यो। ७ गते साँझ शौचालयमा सर्टको पासो लगाएर झुन्डिएर श्रीकृष्णको मृत्यु भएको खबर आयो।
आफन्तका अनुसार हिरासतमा भेट्न जाँदा प्रहरीले विकलाई जबर्जस्ती करणीको बयानमा सही गर्न शारीरिक तथा मानसिक यातना दिइरहेको थियो। घटनापछि तत्काल जानकारी नदिएको र ७ गते सिन्धुलीमा बयानमा लैजाने भने पनि लगिएको थिएन। घटनासँग सम्बन्धित कुनै पनि प्रमाण प्रहरीले नदिएपछि आफन्त सिन्धुली हुँदै काठमाडौंसम्म धर्नामा बस्न आइपुगेको आमा विन्दामायाले नागरिकलाई बताइन्। घटनापछि प्रहरीले विकको शवलाई पाँच घण्टा ढिलाइ गरी सिन्धुली प्रहरी कार्यालय पुर्याएको थियो।
घटना र मृत्युको प्रमाण प्रहरीले नदिएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। परीक्षणका लागि वैशाख १२ गते शव काठमाडौं टिचिङ अस्पताल राखिएको छ। दुई साता बितिसक्दा पनि शवको रिपोर्ट आएको छैन। प्रहरीले मृतक कृष्ण आफ्नै सर्टको पासो लगाई शौचालयमा झुन्डिएर मरेको जानकारी दिएपछि घटनासँग आवश्यक सिसिटिभी फुटेज, यकिन तस्बिर नपाएपछि पीडित पक्षले मृत्युको कारणमा आंशका गरेको छ।
अघिल्लो दिन आफन्त भेट्न जाँदा सिसिटिभी क्यामेरा छ भनेको प्रहरीले भोलिपल्टको गतिविधिको सिसिटिभी फुटेज दिन नसकेको, पच्चीस÷तीसजना प्रहरी खटिएको हिरासतमा एकजना व्यक्तिलाई बलात्कार मुद्दामा सही गर्न दबाब दिनुजस्ता जिज्ञासाको प्रहरीबाट प्रमाण नआएकाले विकको मृत्यु कुटपिटको कारण भएको हुन सक्ने आफन्तको दाबी छ।
मृत्युको प्रमाण नपुगेसम्म धर्ना जारी राख्ने उनीहरूले बताए। ‘राज्यको घरभित्रै छोराको मृत्यु भएको छ, राज्यको घरभित्र मरेपछि न्याय पाउनुपर्यो’, आमा विन्दामायाले भनिन्। ‘आँखा र कानमा घाउ छ। शरीरमा डाम छ। कसरी झुन्डिएर मृत्यु भयो होला?’ विकका जेठा दाजु दीपेश विकले भने। उनले भाइ श्रीकृष्णको सातदोबाटो पुर्याएको दिनदेखि सिन्धुली चौकीमा रहँदाको अन्तिम समयसम्मको सिसिटिभी फुटेज देखाउनुपर्ने, त्यो दिन ड्युटीमा खटिएका प्रहरीको विवरण सार्वजनिक गरी छानबिन हुनुपर्नेलगायतका माग राखेका छन्।
केटी पक्षले उमेर १८ वर्ष पुगेको बताउँदा दाइका कुरा सुनेर प्रहरीले केटी पक्षलाई साथ दिएर बलात्कारको मुद्दा अघि बढाएको घटनाले प्रहरीकै भूमिका निश्पक्ष हुन नसकेको केटा पक्षको आरोप छ। घटनापछि आफन्तविरुद्ध दिएको उजुरी सिन्धुली प्रहरीले अस्वीकार गरेको गाउँले टीकाराम कालिकोटेले बताए। ‘सिधै जाहेरी अस्वीकार गरेपछि हुलाकमार्फत पठाउँदा पनि फिर्ता भएर आएको छ’, उनले भने।
गत वैशाख १२ गते पोस्टमार्टमका लागि कृष्णको शव टिचिङ अस्पताल महाराजगन्जमा लगिए पनि अहिलेसम्म रिपोर्ट आउन सकेको छैन। घटनालगत्तै सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगेर विकको न्यायका लागि धर्ना दिएका थिए। माइतीघरमा धर्ना बसेयता सिन्धुलीका सांसद आशिष गजुरेलले न्याय मिल्ने आश्वासन दिए। यो अवधिमा सरकारले भने कुनै औपचारिक भेट नगरेको उनीहरूको गुनासो छ।
आफन्तका अनुसार मृतक विक सरल र इमानदार युवा थिए। उनमा कुनै दीर्घरोग थिएन। विक परिवार विपन्न आर्थिक स्थिति छ। एक वर्षअघि आत्महत्या गरी पतिको मृत्यु भएपछि एक्लिएकी विन्दामायालाई छोराको मृत्युपछि अर्को चोट थपिएको छ। कतै न्याय नमल्लिा कि भन्ने चिन्ताले उनमा त्रास छाएको छ। ‘मेरो छोरा कसरी मरेको हो? घुँडा टेकेर हो कि लम्पसार परेर हो कि? सबै फोटो देखाऊ’, राज्यको घरमा मरेपछि सबै कुराको निचोड आउनुपर्छ’, उनले भनिन्।
प्रकाशित: ३० वैशाख २०८३ ११:१६ बुधबार





