११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राज्यका हरेक निकायमा प्रधानमन्त्री सचिवालयको आतंक छ : कांग्रेस नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य निलकण्ठ रिजालले पार्टीभित्रको गुटबन्दी अन्त्य, भातृ संस्थाको महाधिवेशन, कार्यकर्ताको उचित मूल्यांकन र निर्वाचनमा टिकट वितरण प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने माग गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै रिजालले पार्टीभित्र हिजो प्रश्न उठाउने स्थानमा रहेका नेताहरू अहिले जवाफ दिने जिम्मेवारीमा पुगेको बताए।

उनले पार्टीका तल्लो तहका नेता तथा कार्यकर्ताले विगतमा आफूहरूले उठाएका प्रश्नको जवाफ अहिले नेतृत्वसँग खोज्ने भएकाले त्यसको समाधानसहित जनतामाझ जानुपर्ने बताए।

उनले भातृ संस्थाहरूको महाधिवेशन कहिले हुने, पार्टीमा लामो समयदेखि योगदान गरेका कार्यकर्ताले अवसर पाउने कि नपाउने, गुटबन्दी कहिले अन्त्य हुने र आर्थिक हैसियतका आधारमा टिकट वितरण हुने प्रवृत्ति रोकिने कि नरोक्ने जस्ता प्रश्नको जवाफ केन्द्रीय समितिले दिनुपर्ने बताए।

रिजालले पार्टी संगठनलाई बलियो बनाउन १२ बुँदे सुझावसमेत प्रस्तुत गरेका छन्। उनले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघलगायतका भातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिँदै नेपाल महिला संघसहित अन्य भातृ संस्थाको महाधिवेशनका लागि स्पष्ट समयसीमा तोक्नुपर्नेमा जोड दिए। साथै जिल्ला र प्रदेश अधिवेशनको मिति तत्काल घोषणा गर्नुपर्ने उनको माग छ।

पार्टीमा जिम्मेवारी दिँदा तथा निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक हैसियतलाई प्राथमिकता दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने रिजालको भनाइ छ।

उनले भने,‘आगामी  स्थानीय निर्वाचनको तयारी आजैबाट सुरु गर्दै, केन्द्रबाट टिकट वितरण हुने परम्पराको अन्त्य गर्दै, स्पष्ट र पारदर्शी छनौट विधि बनाएर पार्टीका स्थानीय तहका ग्रास रुटका साथिहरु माझबाटै उम्मेदवार छनौट हुने व्यवस्था गर्नुपर्छ।’

आन्तरिक निर्वाचनमा उपविजेता भएका तथा लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि प्राविधिक कारणले जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई क्रमशः उचित जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ। पार्टी छाडेर अन्यत्र गएका साथीहरूलाई समेत पूर्वाग्रहरहित ढंगले मूलधारमा फर्काउन पहल गर्नुपर्ने उनले बताए।

त्यस्तै वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म फैलिएको गुटबन्दी अन्त्य गर्न केन्द्रीय नेतृत्वबाटै इमानदार कदम चाल्नुपर्ने रिजालको भनाइ छ।

आगामी स्थानीय निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गरी उम्मेदवार छनोटको अधिकार स्थानीय तहका नेता तथा कार्यकर्तालाई दिनुपर्ने उनको माग छ। केन्द्रबाटै टिकट वितरण गर्ने परम्पराको अन्त्य गर्दै पारदर्शी र स्पष्ट छनोट विधि बनाउनुपर्ने उनको जोड छ।

यस्तै, रिजालले कांग्रेस भाषण, नीति र सिद्धान्तमा मात्र सीमित नभई व्यवहारमै जनतासँग जोडिनुपर्ने बताए।

उनले भने,‘कांग्रेस जनताको घरदैलोमा पुग्नुपर्छ। समाजसँग जोडिनुपर्छ। जनताको दुखमा मलहमपट्टि लगाउनुपर्छ। जनताको आवाज बन्नु पर्छ। बिशेष गरि नेपालको अत्यधिक प्रतिशत जनता संलग्न कृषि पेशामा किसानका मर्काका बारेमा पार्टी बोल्नुपर्छ।’ 

यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त सहयोग रकमको पारदर्शिता र राहत वितरणमा देखिएको ढिलाइप्रति पनि उनले प्रश्न उठाए।

बाढी आएको तीन महिना बितिसक्दा समेत पीडितको सामान्य व्यवस्थापन हुन नसकेको भन्दै सरकारलाई प्रभावकारी रूपमा काम गर्न दबाब दिनुपर्ने उनले बताए।

सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै रिजालले वास्तविक सुकुम्बासीको पहिचान गरी आवाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने बताए।

यस्तै, उनले सरकारले दीर्घकालीन समाधानबिना घरटहरा भत्काउँदा बालबालिका, ज्येष्ठ नागरिक र असहाय नागरिक थप समस्यामा परेको बताए। होल्डिङ सेन्टरबाट समेत सुकुम्बासी हटाउने सरकारी निर्णयप्रति उनले आपत्ति जनाएका छन्।

रिजालले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै लोकतान्त्रिक मूल्य, न्यायालय, सुरक्षा निकाय र संवैधानिक संस्थाको स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाए।

उनले सरकारका निर्णय तथा प्रधानमन्त्रीको सचिवालयको प्रभावप्रति प्रश्न उठाउँदै राज्यका सबै निकाय एउटै व्यक्तिको नियन्त्रणमा राख्ने प्रवृत्ति लोकतन्त्रका लागि उचित नभएको बताए।

‘एउटा व्यक्तिको सनक र लहडले देशको भविष्य अन्धकारतर्फ धकेलिदै छ। देशको सम्पुर्ण निकाय एउटै व्यक्तिको नियन्त्रणमा राख्न खोजिएको छ’, उनले भने,‘अहिले राज्य पुरै प्रधानमन्त्रीको सचिवालय चलाएको छ। राज्यको हरेक निकायमा प्रधानमन्त्री सचिवालयको आतंक बढेको छ। त्यसैले ‘बालेन र बेनको राज्य आतंक’बाट मुलुकलाई मुक्त पार्नुपर्ने आवस्यकता महशुस भएको छ।’

प्रकाशित: ११ मंसिर २०८३ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App