नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन्। शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन्।
आन्दोलनरत कर्मचारीहरूले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।
उनीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने र दक्ष जनशक्तिलाई निरुत्साहित गर्ने कदम स्वीकार्य नहुने बताए।
उनले विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य सुनिश्चित गर्न सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागितामा नीति निर्माण हुनुपर्नेमा जोड दिए।
कर्मचारीहरूले अध्यादेशका नाममा हुने एकपक्षीय निर्णय र संस्थामाथिको मन्त्रालय तथा मन्त्रीको हस्तक्षेप रोक्नुपर्ने माग गरेका छन्। साथै विज्ञानमैत्री ऐन, नियमावली निर्माण गरी प्रतिष्ठानको नेतृत्व खुला प्रतिस्पर्धा र योग्यताका आधारमा चयन गर्नुपर्ने उनीहरूको माग छ।
वैज्ञानिक अनुसन्धानको वातावरण सुरक्षित गर्दै संस्थाको स्वायत्तता र संस्थागत क्षमता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आन्दोलनरत कर्मचारीहरूको भनाइ छ।
प्रकाशित: ११ मंसिर २०८३ १४:२१ शुक्रबार


-600x400.jpg)


