त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्।
उनी बंगलादेश हुँदै बिजी–३७१ नम्बरको उडानमार्फत नेपाल आएका थिए।
विमानस्थलमा खटिएको लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले शंकास्पद यात्रुहरूको जाँच गर्ने क्रममा चौहानलाई रोकेर खानतलासी गरेको थियो।
सो क्रममा उनले बोकेको झोलाभित्र एयर ड्रायर र कुकीज बिस्कुटको बट्टामा लुकाएर राखिएको ४ किलो थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १४:२९ शुक्रबार


-600x400.jpg)
-600x400.jpg)

