१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महाकाली सिँचाइ मुआब्जा विवादमा

भीमदत्तनगर – तीन वर्षभित्र मूल नहर निर्माण सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ।

निर्माण सम्झौता भएको २४ महिना बितिसक्दा पनि आयोजनाको ऐलानी जग्गाको मुआब्जा विवाद, वनमा नहर निर्माणका लागि गर्नुपर्ने प्रक्रियामा ढिलाइका कारण नहर निर्माणले गति लिन नसकेको हो। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले ऐलानी जग्गा मुआब्जा समाधान गर्ने विषयमा प्रक्रियागत रुपमा अघि बढिरहेको बताए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्को निर्णय हुनुपर्ने प्रावधान छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले उपससमिति गठन गरेर स्थलगत प्रतिवेदन लिइसकेको बताउँदै निर्देशक विष्टले चाँडै मुआब्जाको विषय टुंगो लाग्ने दाबी गरे।

निर्माण सम्झौता भएको २४ महिना बितिसक्दा पनि आयोजनाको ऐलानी जग्गाको मुआब्जा विवाद, वनमा नहर निर्माणका लागि गर्नुपर्ने प्रक्रियामा ढिलाइका कारण नहर निर्माणले गति लिन नसकेको हो।

कुल १५ किलोमिटर मूल नहर निर्माणका लागि दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो। ‘यो वर्ष आएको ३५ करोड निर्माणको रकम सकिएको छ,’ निर्देशक विष्टले रासससित भने, ‘मुआब्जाका लागि आएको पाँच करोड बाँकी छ।’ सिँचाइ आयोजनाले बितेको २४ महिनामा करिब ३० प्रतिशत काम सकिएको जनाएको छ। चालु आवमै सिँचाइको नहर निर्माणका लागि रकम अभाव रहेकाले सिँचाइ मन्त्रालयमा रकम विनियोजन गर्न फाइल पेस गरिएको विष्टको भनाइ थियो। ‘ठेकेदारहरु काम गरेको बिल भुक्तानीका लागि आइरहँदा रकम अभावको अवस्था छ,’ उनले भने, ‘नहर निर्माणस्थलमा पर्ने चार वटा समुदायिक वनमा रुख कटानको प्रक्रिया अघि बढेको छ।’

यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा पर्ने नहर निर्माणको काम नहर खन्ने क्रम केही समययता मात्रै सुरु भएको हो। ‘हामीले जग्गा र वनको विषय टुंगो नलाग्दा साइफन, पुल, कल्भर्ट लगायत अन्य संरचनामा जोड दियौं,’ नहर निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर प्रेमप्रसाद भाटले भने, ‘ठेक्का पायौं तर काम गर्ने ठाउँ उपलब्ध नहुँदा ढिलाइ हुन गयो।’ उनले आफूहरुले कामलाई गति दिन चाहेपनि मुआब्जा लगायतका कारण ढिलाइ भइरहेको बताए। ‘हाम्रो ठेक्का परेको पाँच किलोमिटरको भौतिक प्रगति ३५ देखि ४० प्रतिशतसम्म छ,’ उनले भने, ‘अहिले शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर खन्ने कामले तिव्रता पाउँदैछ।’ मूल नहर निर्माण क्षेत्रमा करिब २६ हेक्टर क्षेत्रफल ऐलानी जग्गा रहेको सिँचाइ आयोजनाले जनाएको छ। पुर्जा भएको जमिनको मुआब्जा वितरण भइसके पनि घरको मुआब्जा भने उपलब्ध नहुँदा थप समस्या निर्माणमा हुँदैछ।

महाकाली नदीबाट सिँचाइका लागि कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि एक दशकअघिदेखि मूल नहर निर्माण थालिएको थियो। मूल नहर हालसम्म १३ किलोमिटर बनेको छ। कैलालीको मालाखेतीसम्म एक सय ५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून रहेको छ। कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्र गरी ३३ हजार पाँच सय २० हेक्टर सिँचाइ सुविधा पुग्ने भनिएको छ। तर नहर निर्माण भएको १३ किलोमिटर क्षेत्रमा अझै शाखा नहर निर्माणको सुरसार छैन। हाल निर्माणाधीन १५ किलोमिटर मूल नहर निर्माणको सम्झौता तीनवटा प्याकेजमा विसं २०७४ माघमा भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App