१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

माइखोलाबाट वर्षदिनमा २२ मेगावाट थपिँदै

इलामको सुम्बेकस्थित माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको हेडरेस पाइप जडान गरिँदै। तस्बिर:भीम/नागरिक

इलाम - माइखोलाका विभिन्न स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको काम तीव्र गतिमा छ। वर्ष दिनभित्र यहाँका तीन आयोजनाबाट २२.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिँदैछ। अहिले माइखोलाको सन्दकपुर गाउँपालिकाको माबुदेखि माई नगरपालिकासम्म सात आयोजना (क्यासकेडसहित)ले विद्युत् उत्पादन गरिरहेका छन्। तर, हिउँदयाम भएकाले खोलामा पानी कम हुँदा आयोजनाबाट क्षमताअनुसार उत्पादन हुन सकेको छैन। बर्खामा क्षमताअनुसार उत्पादन हुने विद्युत् हिउँदमा चाहिँ आधाभन्दा कम हुने गरेको छ।

अहिले इलाम नगरपालिका २ र ८ को माइखोलामा माइबेनी, सुपरमाई–ए र सुपरमाई क्यासकेड गरी तीन आयोजना निर्माणधीन छन्। ९.५ मेगावाटको माइबेनी जलविद्युत् आयोजनाको ६९ प्रतिशत काम सकिएको छ। आयोजना प्रबन्धक राजेन्द्रराज भारतीका अनुसार हेडबक्स निर्माण, पाइप जडानको काम अन्तिम चरणमा छ भने सुरुङ निर्माण धमाधम छ। यो आयोजनाको हेडबक्सदेखि पावरहाउससम्म दुई फरक सुरुङ छन्। एउटा एक हजार ७८ मिटर सुरुङको ब्रेक थ्रु हुन २२ मिटरमात्रै बाँकी छ। १० दिनभित्र ब्रेक थ्रु गर्ने लक्ष्य छ। आयोजना प्रबन्धक भारतीले अर्काे एक हजार चार सय ८४ मिटरको सुरुङको आठ सय मिटरजति काम भइसकेको बताए। ‘समग्रमा ७७ प्रतिशत सिभिल प्रोग्रेस भएको छ,’ उनले भने।

माइखोलाको अर्चलेमा रहेको हेडबक्सबाट पेनस्टक पाइप, त्यसपछि महभीरबाट एउटा सुरुङ, बीचमा एक हजार तीन सय ६० मिटर हेडरेस पाइप र पुनः अर्काे सुरुङ भएरमात्र माइबेनीमा रहेको पावरहाउसमा पानी पु¥याइँदैछ। गत असारमा सुरु भएको आयोजनाको काम आउँदो भदौभित्र सक्ने आयोजनाको लक्ष्य रहेको उनले बताए। एक अर्ब ८६ करोड रुपैयाँको लगानीमा सामलिङ पावर कम्पनीले आयोजना प्रवद्र्धन गर्दैछ। गत भदौ १८ मा सुरु गरिएको सुपरमाई क्यासकेडको काम आउँदो जेठभित्रमा सक्ने लक्ष्य छ। तीन मेगावाटको आयोजनाको पावरहाउस निर्माण धमाधम भइरहेको आयोजना प्रबन्धक मनोज भुर्तेलले बताए। ‘पुस अन्तिममा इन्टेक निर्माणको काम सकेको र मंसिरमा सुरु गरेको पावरहाउस निर्माण अन्तिम चरणमा छ,’ उनले भने, ‘७० प्रतिशतभन्दा बढी काम भइसकेको छ, आउँदो जेठमा काम सकिन्छ।’

५५ करोड रुपैयाँ लागतमा निर्माणाधीन आयोजनाको दुई सय ४० मिटर एप्रोच क्यानलबाट पानी ल्याएर हेडपोन्डमा जम्मा गरेपछि एक हजार दुई सय ६० मिटरको हेडरेस पाइपबाट पावरहाउससम्म ल्याइएको छ। पावरहाउसमा १.५ मेगावाट दरका दुई टर्बाइन रहने उनले जनाए। ‘यहाँबाट वार्षिक १८.३० गिगावाट÷आवर विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘हिउँदमा ३.२६ र बर्खामा १५.०४ गिगावाट÷आवर उत्पादन हुने अनुमान छ।’ इलाम नपा–२, सुम्बेकको माइखोलामै निर्माणाधीन ९.६ मेगावाटको सुपरमाई–ए आयोजनाको काम धमाधम छ। आउँदो वैशाखसम्ममा बिजुली उत्पादन गर्नेगरी आयोजनाको कामले गति लिएको आयोजना प्रबन्धक सन्तोष कार्कीले जानकारी दिए। हेडबक्स र पावरहाउस निर्माणको काम सकिएको    छ भने तीन हजार सात सय मिटर हेडरेस पाइपमध्ये नौ सय १८ मिटर राख्न बाँकी रहेको उनले बताए।

सानिमा, ज्योती, एनसिसी र सेन्चुरी बैंकको एक अर्ब ७९ करोड रुपैयाँ लागतमा सगरमाथा जलविद्युत् कम्पनीले आयोजना प्रवद्र्धन गरिरहेको छ। ‘गत वर्षको माघमा सुरु भएको काम ८० प्रतिशत सकिएको छ,’ उनले भने, ‘गोदक सब–स्टेसनमा जोडिने १४ किलोमिटर ट्रान्समिसन लाइनमध्ये अब तीन किलोमिटरको काममात्रै बाँकी छ।’

माइखोलामा यसअघि क्यासकेडसहितका सानिमा माई (२९ मेगावाट) र पञ्चकन्या (१८ मेगावाट), सुपरमाई (७.८ मेगावाट) तथा हिमाल दोलखा जलविद्युत् आयोजना (७.५) सञ्चालनमा छन्। इलाम, पाँचथर र ताप्लेजुङका दर्जनभन्दा बढी आयोजनाले विद्युत् उत्पादन गरिरहेपनि हिउँदयाममा क्षमताको एक तिहाइमात्रै विद्युत् उत्पादन भइरहेको गोदकस्थित सब–स्टेसनले जनाएको छ। काबेली करिडोरमा चालू रहेका ११ जलविद्युत् आयोजनाको कुल क्षमता ८६.९७ मेगावाट रहेपनि ३०÷३१ मेगावाट मात्रै उत्पादन भइरहेको छ।

पाँचथरमा १४.९ मेगावाटको हेवाखोला र ०.९९ मेगावाटको खोरुङ्गाखोला तथा ताप्लेजुङमा पाँच मेगावाटको फावाखोला आयोजना सञ्चालनमा छन्। इलाम, पाँचथर र ताप्लेजुङ तीनै जिल्लामा उत्पादित विद्युत् गोदक सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका अनुसार यी तीन जिल्लामा नौ मेगावाट विद्युत् माग छ। इलाम र पाँचथरमा ८.६ तथा ताप्लेजुङमा पाँच सय किलोवाट विद्युत् माग रहेको केन्द्रले जनाएको छ।

प्रकाशित: १४ माघ २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App