भारतीय व्यवसायी राकेश वाधवाले चलाएका बाँकी पाँच क्यासिनो भने अझै सम्पर्कमा आएका छैनन्। वाधवाका क्यासिनो नेपाल, अन्ना, साग्रिला, एभरेष्ट र ताराले सबैभन्दा बढी रोयल्टी तिर्न बाँकी छ।
होटल मल्लको भेनस, र्याडिसनको र्याड, याक एण्ड यतिको रोयल र पोखराका ग्राण्ड र फुलबारीले मंगलबार रकम तिरेका हुन्। यी सबै नेपाली व्यवसायीले चलाएका क्यासिनो हुन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक महेश दाहालले भेनस, र्याड र पोखराको ग्राण्ड होटलस्थित क्यासिनो ग्राण्डले गत आर्थिक वर्षसम्मको सबै बक्यौता चुक्ता गरेको जानकारी दिए। 'तीन क्यासिनोको अब बक्यौता छैन,' महानिर्देशक दाहालले भने 'यस वर्षको रोयल्टी आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ।' १० वटा क्यासिनोले करिव ३५ करोड रोयल्टी सरकारलाई तिर्न बाँकी छ।
यसै गरी भनेसले ४३ लाख, र्याडले ८६ लाख र ग्राण्डले ४७ लाख ६६ हजार रुपैयाँ तिरेका छन्। यी तिन क्यासिनोले चालु आवका लागि २-२ करोड रुपैयाँ तिर्न भने बाँकी छ।
दाहालका अनुसार याक एण्ड यतिको क्यासिनो रोयलले ५५ लाख र पोखराको होटल फुलबारीस्थित क्यासिनो फुलबारीले ५० लाख रुपैयाँ रोयल्टी तिरेका छन्। 'यी दुई क्यासिनोको अझै बक्यौता नै बाँकी छ,' महानिर्देशक दाहालले भने।
विभागले रोयल्टी तिर्न ताकेता गर्दै आइतबार सबै क्यासिनोलाई २४ घण्टे समय दिई सम्पर्क गर्न पत्र काटेको थियो। त्यसअनुसार सोमबार केहि क्यासिनोले विभागमा सम्पर्क गरेका थिए भने मंगलबार केहीले पैसा तिरे।
राजधानीमा सञ्चालित पाँच क्यासिनोको सञ्चालक तथा व्यवस्थापक नेपाल रिक्रिएसन सेन्टर प्रालि हो। यसका प्रमुख भारतीय नागरिक वाधवा हुन्। त्यसअघि अमेरिकी नागरिक आरडी टटलले क्यासिनो सञ्चालन गरेका थिए। क्यासिनो सञ्चालकहरूले होटललाई पनि करिब ५० करोड रुपैयाँ भाडा तिर्न बाँकी छ।
राजस्व कार्यालयहरूले विभिन्न नीतिगत समस्याको बहाना बनाएर ताकेता दिन नसक्दा क्यासिनोहरुबाट सरकारले धेरै वर्षदेखिको रोयल्टी उठाउन सकेका छैन।
दाहालका अनुसार अहिलेसम्म क्यासिनो साग्रिला र अन्नाले सम्पर्क गरेका छैनन्। सबैभन्दा बढी रोयल्टी तिर्न बक्यौता रहेको क्यासिनो नेपालले झारा टार्ने किसिमले पत्र पठाएको छ। 'क्यासिनो नेपालले आफ्नो आधिकारीक व्यक्ति उपत्यका बाहिर भएको जानकारी दिएको पत्र पठाएको छ,' महानिर्देशक दाहालले भने। उनले रकम तिर्न झारा टार्ने क्यासिनो नेपालसहित अन्य सम्पर्कमा नै नआउने क्यासिनोलाई कारवाही गर्ने तयारी गरेको बताए। 'बुधबार सार्वजनिक विदा छ, बिहीबार यसबारेमा निणर्य गर्छौ,'उनले भने।' उनले सम्पर्कमा आएका क्यासिनोका अधिकारीहरुसँग थप सोधपुछ गरि तारेकमा छाडिएको बताए।
सरकारलाई रकम नतिर्ने क्यासिनोहरुमध्ये होटल सोल्टीमा सञ्चालित क्यासिनो नेपालले १० करोडभन्दा बढी रुपैयाँ तिर्न बाँकी छ। डेल अन्नपूर्ण होटलमा खुलेको क्यासिनो अन्नाले साढे ८ करोड तिर्न बाँकी छ। यस्तै होटल एभरेस्टको क्यासिनो एभरेस्टसँग एक करोड ८३ लाख रुपैयाँ तिर्न बाँकी छ। यस्तै हायातको क्यासिनो तारासँग २ करोड ६० लाख लिन छ।
अर्थ सचिव रामेश्वर खनालले यही विषयमा केही दिनअघि राजस्व अधिकारीहरूलाई आफ्नो कार्यकक्षमा डाकेर यति ठूलो रकम बक्यौता हुँदा पनि असुलीमा तदारुकता देखाएकामा प्रश्न गरेका थिए। क्यासिनोहरूबाट राजस्व उठाउन नसक्नु समग्र टिमकै लागि लाजमर्दो भएको उनको भनाइ थियो।
अर्थ सचिवको निर्देशनपछि क्यासिनोको बक्यौता असुली गर्ने जिम्मेबारी अनुसन्धान विभागलाई दिइएको थियो।
आन्तरिक राजस्व कार्यालयहरुले पनि मातहतका होटलहरूलाई चालू र यसअघिका वर्षदेखि क्यासिनोहरूले रोयल्टी नबुझाएको र त्यसबापत् वार्षिक १५ प्रतिशतका दरले हुन आउने शुल्कसमेत बुझाउन निर्देशन दिदै पत्र पठाएका थिए।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन गर्न पाँचतारे होटललाई अनुमति दिन्छ। अनुमति पाउने होटलले भने अरू कम्पनीलाई क्यासिनो चलाउन दिएको छ। एकचोटि सञ्चालन अनुमति पाएपछि कहिल्यै नवीकरण गराइरहनुपर्दैन। यही नीतिले रोयल्टी असुलीमा समस्या परेको छ। मन्त्रालयले पनि अनुमति दिएपछि हालसम्म अनुगमन गरेको छैन।
प्रकाशित: ३० कार्तिक २०६७ २३:३८ मंगलबार





