१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतीय सहयोगका पुनर्निर्माण परियोजनाको समीक्षा

काठमाडौं - भारत सरकारको सहयोगमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गरिएको छ । भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको सोमबार सम्पन्न बैठकमा हालसम्मको प्रगतिबारे समीक्षा गर्दै पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीको अध्यक्षतामा भएको उक्त बैठकमा भारतीय विदेश मन्त्रालयका उत्तर डेस्क सहसचिव सुधाकर दलेला नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । भारत सरकारको २५ करोड डलर (२५ अर्ब रुपैयाँ) अनुदान सहयोगमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण भइरहेका छन्।

गोरखा र नुवाकोट जिल्लाका सामाजिक प्राविधिक सहजीकरण परामर्शदाता युएनडिपी तथा युएनओपिएसले पुनर्निर्माणमा भएको प्रगतिका साथै दुई जिल्लाका लाभग्राहीलाई प्रदान गरिँदै आएको सहजीकरणबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । समीक्षा बैठकले पुनर्निर्माण परियोजनामा भएको सम्झौतापछि दुवै पक्षको संयुक्त प्रयासबाट निजी आवास पुनर्निर्माणतर्फ राम्रो प्रगति भएको निष्कर्ष निकालेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा छ । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका पुनर्निर्माणबारे पनि छलफल गरिएको थियो । दुवै पक्षबीच सबै क्षेत्रका प्रगतिलाई द्रूत गतिमा अगाडि बढाउने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App