त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न आवश्यक जग्गा उपलब्ध गराउन आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ताकेता गरेको छ । जोखिमपूर्ण ठाउँमा रहेको हवाई इन्धन डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयल निगमले तयारी गरे पनि क्यानले जग्गा उपलब्ध नगराए पछि ढिलाई भएको छ ।
क्यानले जग्गा उपलब्ध गराउन आलटाल गरे पछि नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले मंगलबार क्यानलाई पुनः पत्राचार गर्दै जग्गाको चारकिल्ला तोकेर निगमलाई उपलब्ध गराउन आग्रह गरेको हो । सिनामंगल डिपोका प्रमुख प्रदीप कुमार यादवले प्राधिकरणलाई पत्राचार गर्दै जग्गाको चारकिल्लो तोक्न आग्रह गर्दै प्रस्तावित निर्माण स्थलमा रहेका रुखहरु कटाउन गर्न अनुरोध गरेका छन् । ‘प्रस्तावित निर्माण स्थलमा रहेको नेपाली सेनाको भवन पनि हटाइदिनु’ पत्रमा लेखिएको छ, ‘डिपो निर्माण गर्न आवश्यक जग्गाको सम्झौता पनि गरिदिनु ।’
डिपो स्थानान्तरणको लागि विमानस्थल नजिकै गौचरस्थित नेपाली सेनाको गल्फ कोर्स क्षेत्रमा आवश्यक जग्गा प्राधिकरणद्वारा निगमलाई छुट्याइएको भए तापनि हालसम्म जग्गा प्राप्ति गरी खाली गर्न क्यानले सघाएको छैन । अहिलेको डिपो जोखिमपूर्ण रहेको भन्दै मन्त्रिपरिषद् बैठकले गत वर्षको साउन २८ गते हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । डिपोमा भण्डारण क्षमता पाँच दिनका लागि मात्र रहेको, डिपो ५० वर्ष पुरानो, ट्याक्सी वेबाट नजिक भएकाले पनि सार्नु परेको निगमले जनाएको छ।
हवाई इन्धन प्रज्वलनशील पदार्थ भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्छ । सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखेर अत्याधुनिक प्रविधिको नयाँ डिपो निर्माण गर्ने निगमको योजना हो ।
निगमले स्थानान्तरणको प्रक्रिया अघि बढाउन चार कोठे साइट अफिस निर्माण गरेको, साइटमा जाने बाटो तथा प्रवेशद्वार निर्माण गरेको जनाएको छ । निगमले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग सम्झौता गरेर डिपिआर निर्माण गरेको छ ।
सम्झौता अनुसार आर्किटेक्चरल ड्रइङ ९५ प्रतिशत, स्ट्रक्चरल ड्रइङ ९० प्रतिशत, इलेक्ट्रिकल, स्यानिटरी र मेकानिकल ड्रइङ ९५ प्रतिशत, थ्री–डी डेभलपमेन्ट ८५ प्रतिशत सम्पन्न भएको निगमले जनाएको छ। त्यसैगरी एस्टिमेट ९० प्रतिशत, डिजाइन प्रतिवेदन ८५ प्रतिशत, साइट सर्भे तथा माटो परीक्षण सतप्रतिशत सम्पन्न भएको निगमले जनाएको छ । पाँच दशक पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर मात्र छ । यो डिपोमा एक हजार ६ सय किलोलिटरका तीन वटा, सात सय ६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका आठ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन् ।
डिपोको एकातर्फ विमानस्थलको टयाक्सी वे र अर्कोतर्फ बस्ती नजिकै रहेको भन्दै विगतमा क्यानले नै डिपो सार्न आयल निगमलाई ताकेता गरेको भए पनि अहिले क्यानको कारणनै ढिला भएको निगमले जनाएको छ । आइकाओले तोके अनुसार विमानस्थलको मापदण्ड पूरा हुन नसक्दा सेफ्टी अडिटको समयमा कमीकमजोरी औंल्याएको छ ।
क्यानको गुरु योजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिले सिनामंगलमा रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको छ ।
प्रकाशित: २४ असार २०८२ २०:१३ मंगलबार





