कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद् र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्रदेश सरकारहरूको साझा एजेन्डा बनाउनुपर्ने बताएका छन्।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले यी दुई समस्या मुलुकका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै तीनै तहका सरकार, सुरक्षा निकाय र नागरिक समाजको सहकार्यमा समाधान खोज्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको नकारात्मक असरबाट नेपालले ठूलो क्षति बेहोर्नुपरेको बताए। बाढीपहिरो, हिमपहिरो, हिमनदी थुनिने घटना तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएकाले त्यसको सामना गर्न साझा रणनीति आवश्यक रहेको उनको भनाइ थियो।
‘जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनीकरण गर्न र व्यापक रूपमा बढिरहेका मौसमजन्य तथा अन्य विपद्को सामना गर्नु नेपाल सरकार, नेपाली जनता र राष्ट्रको पहिलो चुनौती हो,’ उनले भने।
मुख्यमन्त्री कार्कीले भोटेकोशीमा आएको विनाशकारी बाढी तथा कालीगण्डकी क्षेत्रमा देखिएका घटनाले नेपालमा विपद्को जोखिम गम्भीर बन्दै गएको संकेत गरेको बताए। आगामी दिनमा यस्ता विपद्को सामना गर्न प्रदेशहरूबीच साझा धारणा निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
प्रदेशहरूको साझा धारणा बनेपछि स्थानीय तहलाई सहजीकरण गर्न र संघीय सरकारसँग समन्वय तथा सहकार्य गर्न सहज हुने उनको भनाइ थियो। विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताए।
लागुऔषध दुर्व्यसन हिमाली क्षेत्रसम्म फैलिँदै मुख्यमन्त्री कार्कीले लागुऔषध दुर्व्यसनको समस्या पनि देशभर फैलिँदै गएको बताए।
समयमै यसको नियन्त्रण र न्यूनीकरण गर्न नसके भावी पुस्ता मात्रै प्रभावित नहुने, राष्ट्रलाई आवश्यक योग्य जनशक्तिको अभावसमेत हुन सक्ने उनको भनाइ छ।
‘यसलाई समयमै सबै मिलेर सामना गर्न र नियन्त्रण गर्न सकेनौँ भने हामीलाई आवश्यक राष्ट्रसेवक कर्मचारी वा अन्य क्षेत्रका योग्य जनशक्ति खोज्न विदेशबाट मान्छे ल्याउनुपर्ने स्थिति आउन सक्छ,’ उनले भने।
उनले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजलाई साथमा लिएर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्ने बताए। जलवायु परिवर्तन र लागुऔषध दुर्व्यसनलाई अन्तरप्रदेश सहकार्यका प्राथमिक विषय बनाउनुपर्ने उनको प्रस्ताव थियो।
प्रकाशित: २७ आश्विन २०८३ १४:१४ मंगलबार


-600x400.jpg)


