नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको जित सुनिश्चित भएको छ।
गणना हुन बाँकी मतभन्दा उनीहरूको अग्रता धेरै भएकाले औपचारिक घोषणाअगावै दुवै जनाको जित निश्चित भएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार कुल ७ हजार २०० मत खसेकोमा हालसम्म ६ हजार ८०० मत गणना भइसकेको छ। अब गन्न बाँकी ४०० मत अन्य प्रतिस्पर्धीले पूरै पाए पनि खतिवडा र शिवाकोटीलाई पछि पार्न सक्ने अवस्था छैन।
मतगणना जारी रहेकाले अन्तिम परिणाम घोषणा हुन भने बाँकी नै छ। यद्यपि, गणितीय रूपमा जित पक्का भएसँगै मतगणनास्थलमा कांग्रेस नेता-कार्यकर्ताले उनीहरूलाई बधाई दिन थालिसकेका छन्।
कांग्रेसको खुलातर्फको दुई सहमहामन्त्री पदका लागि नौ जना चुनावी मैदानमा थिए। जसमा खतिवडा र शिवाकोटीसँगै अमृतकुमार अर्याल, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला र राजीव ढुंगानाले प्रतिस्पर्धा गरेका हुन्।
प्रकाशित: २७ आश्विन २०८३ १५:३६ मंगलबार





