२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

संघीय सरकारको आलोचना गर्न मुख्यमन्त्री सम्मेलन गरेका होइनौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको आलोचना गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना नगरिएको बताएका छन्। 

मंगलबारदेखि विराटनगरमा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको स्पष्ट पारे। 

‘यो संघीय सरकारको आलोचनाका लागि तयार पारिएको मञ्च होइन,’ उनले भने। 

कार्कीले सम्मेलनबाट प्रदेश सरकारले भोगिरहेका समस्याको समाधानका लागि साझा निष्कर्ष निकाल्ने र प्रधानमन्त्रीसँग समेत छलफल गरेर समाधानको पहल गर्ने उद्देश्य रहेको बताए। 

संघीयता कार्यान्वयनका विषयमा मात्र नभई जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्याबारे पनि प्रदेशहरूको साझा धारणा बनाउने उनले बताए। लागूऔषध दुर्व्यसनका कारण देखिएका समस्या र यसको नियन्त्रणका उपायबारे पनि प्रदेशहरूले साझा धारणा बनाउने कार्कीको भनाइ थियो। 

नेपालमा पछिल्ला वर्षमा राष्ट्रिय पुँजी निर्माण हुन नसक्दा आर्थिक वृद्धि र रोजगारी सिर्जना अपेक्षित रूपमा हुन नसकेको उनले बताए। कृषि र पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि र पर्याप्त रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै कार्कीले यी विषयमा पनि प्रदेश सरकारहरूबीच साझा धारणा बनाइने स्पष्ट पारे।  

प्रकाशित: २७ आश्विन २०८३ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App