१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

प्याज नकाटिँदा किसान रोए !

साङ्केतिक तस्बिर

खासमा  प्याज काटिँदा त्यसमा रहेको सल्फरयुक्त यौगिकका कारण आँसु आउने गर्छ । तर चितवनका किसान ‘प्याज नकाटिँदा’ आँसु झार्न बाध्य बनेका छन् ।  आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसक्दा उनीहरू दुखी छन् । 

भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमलाले १६ कट्ठामा लगाएको  प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य  भएका छन् । ‘मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु,’ उनले भने ‘तर बजारमा मूल्य पाउन सकिन ।’ 

बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको  उनले बताए ।  व्यवसायीले प्रतिकिलो रु २५ भन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताउनुभयो । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए । 

उनको मात्र हैन, जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत लगाइएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

 तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो रु २० देखि रु ३० मा बेच्न बाध्य भएको बताउँछिन्।  उनले भनिन्,  ‘भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।’

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रवि किरण अधिकारीले जानकारी दिए । उनले भने, ‘चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।’

आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उनको भनाई छ ।  नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्न सके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताए । 

उनले भने, ‘अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।’ प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उनले जानकारी दिए ।  अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउने गरी काम भइरहेको अधिकारीले बताए । 

यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ ।रासस

प्रकाशित: ६ असार २०८२ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App