२१ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ उडानमा कडाई गर्दै प्राधिकरण

बुधबारको दुर्घटना गराउने पाइलटलाई उडानमा रोक

पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

बुधबार दिउँसो करिब तीनबजेतिर एकाएक दुइवटा प्याराग्लाइडिङ यहाँस्थित फेवातालमा खसे। बेलैमा उद्धार गरिएकोले भारतीय पर्यटक सवार ती प्याराग्लाइडिङका पाइलट र पर्यटक सुरक्षित रहन पाए। पाइलट र पर्यटक सुरक्षित रहेपनि नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनामा परेका पाइलटलाई थप उडानमा रोक लगाएको छ।

पाइलटलाई उडानमा रोक लगाएको प्राधिकरणले बुधबारको घटनाको सत्यतथ्य छानविन गरि तीनदिनभित्र प्राधिकरणका प्रतिवेदन पेश गर्न प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई निर्देशन पनि दिएको छ।  

पोखरा–१८ खपौंदी स्थित फेवातालको बीचमा दुईवटा प्याराग्लाइडिङ अनियन्त्रित भई खसेको र खबर प्राप्त हुनासाथ तत्काल सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण को फेवा रेस्क्यु टावरमा खटिएको गोताखोर सहितको उद्धार टोली र नेपाल प्रहरीको उद्धार टोली मोटर बोट सहित पाइलट र पर्यटकलाई उद्धार गरेको ना का अध्यक्ष अनिल केसी बताउँछन्।  

केसीका अनुसार भारत बनारसका ४१ वर्षिय अकलेस यादव र वनारसकै ३५ वर्षिय चन्दन कुमार पटेल उक्त दुर्घटनामा परेका थिए। ती भारतीय पर्यटकलाई आकाशमा उडाएका अग्नि प्याराग्लाइडिङ कम्पनिका पाइलट मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ कम्पनिका पाइलट विश्वास अधिकारी पनि दुर्घटनामा परेका थिए। पाइलटद्वय शाह र अधिकारीलाई अर्काे निर्णय नभएसम्म उडान गर्न प्राधिकरणले रोक लगाएको छ।  

‘दुर्घटना भन्दा पनि हावाको झोक्कामा परेका पाइलटले पानीमाथि सुरक्षित अवतरण गरेका हुन,’ उनले भने, ‘तालको सट्टा तार, रुख वा भूइँमा बजारिएको भए बल्ल दुर्घटना भन्न मिल्थ्यो। यो त पाइलटले सचेतना अपनाएर पानीमाथि सुरक्षित अवतरण गराएका हुन।’ अध्यक्ष केसीका अनुसार मे देखि जुलाईसम्मको यो समयमा कुनैपनि बेला हावाहुरी आउने भएकोले यो बेला यस्ता घटना हुनसक्ने जोखिम रहन्छ।  

‘प्राधिकरणले तोकेकै बक्सभित्र उडिरहेको बेला एकाएक हावाहुरी चलेको र त्यही हावाले हुत्याएर तालमाथि पुर्याएको हो, त्यसपछि पाइलटले तालमा अवतरण गराएर सुरक्षाको विधि अपनाएका हुन्,’ उनले भने, ‘बक्सभित्रै उडिरहेको बेला हावाले हुत्याउँदा यो सिजनमा यस्ता समस्या निम्तिन्छन। अहिले तालको माथिल्लो क्षेत्रमा उड्न पाउने अवस्था भएपछि यस्तो अवस्था आएको हो।’

प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलका अनुसार प्रारम्भिक अध्ययनको क्रममा बुधबारको घटना पाइलटलको हेलचक्रयाँइले भएको हो। प्राधिकरणले तोकेको बक्स भन्दा बाहिर उडेको र एकाएक हावाको चापमा पर्दा प्याराग्लाइडिङ तालमा हुत्तिएको भुलले बताए।  

‘पाइलटले मौसमी चूनौतीलाई बुझेको देखिएन। उनीहरु बक्सभन्दा बाहिर उडेको प्रारम्भिक अध्ययनले देखाएको छ। एकएक हावाले हुत्याएर तालमा पुर्याएको हो,’ भुलले भने, ‘प्याराग्लाईडिङलाई फेवातालको माथिल्लो खण्डको अन्तिम बिन्दुमा अवतरण गर्न प्राधिकरणले स्वीकृति दिएसँगै घटना भएका छन। यो घटनालाई प्राधिकरणले गम्भीर रुपमा लिएर तीनदिनभित्र प्रतिवेदन पेश गर्न भनिएको हो।’ प्याराग्लाइडिङ उडानमा समस्या रहेकोले त्यसलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको भुलले बताए।  

कडाई गर्दै प्राधिकरण  

नागरिक उड्डयन प्राधिकरणले पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङलाई थप कडाई गर्न थालेको छ। संख्यात्मक रुपमा धेरैवटा कम्पनि रहेको र अस्वस्थ प्रतिश्पर्धा हुँदा दुर्घटना हुनसक्ने भएकोले कडाई गर्न थालिएको प्राधिकरणको भनाई छ। अहिले पोखरामा ५७ वटा कम्पनिले प्याराग्लाइडिङ उडानका लागि अनुमति लिएका छन। ती कम्पनिमा  २ सय ६० जना पाइलट कार्यरत छन। अहिले दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान हुने गरेका छन।  

प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलका अनुसार गत मंगलबार मात्र प्राधिकरणले हवाई खेलकुद संस्थालाई निर्देशन दिँदै प्याराग्लाइडिङ उडान हुँदाको अवधिभर आपतकालिन अवस्थामा उद्धारका लागि फेवातालको किनारमा दुइवटा डुंगा (एउटा मोटरबोट अनिवार्य) राख्नुपर्ने, नियमित रुपमा पाइलटको लागुपदार्थ र मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्नुपर्ने र यात्रुले तिर्नुपर्ने शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने गरि सर्त तोकिदिएको छ।  

‘तालको नजिक अवतरण गर्न छुट दिएपछि उद्धारका लागि तयारी पनि गर्नुपर्छ। त्यसका लागि डुंगाको व्यवस्था गर्न भनेका छौ,’ भुलले भने, ‘बेलैमा उद्धार गर्न पाउने हो भने ज्यान सुरक्षित रहन्छ। नत्र क्षति हुनसक्छ, त्यसतर्फ सचेत हुन भनेका छौ। हामीले डुंगा राख्न भनेकै भोलिपल्ट बुधवार घटना भईसकेको छ।’ प्याराग्लाइडिङलाई व्यवस्थित गर्नका लागि मर्जरमा लैजाने नीति पनि प्राधिकरणले बनाइरहेको भुलले बताए।  

‘अहिले प्याराग्लाइडिङ उडानको क्षेत्रमा व्यावसायिकता हुनै सकेन। धेरैवटा कम्पनि रहेकोले व्यवस्थित गर्न सहज पनि छैन,’ उनले भने, ‘त्यसैले नीति बनाएरै काम गर्नुपर्नेछ। अहिले प्याराग्लाइडिङ क्षेत्रमा व्यावसायिकता भन्दा पनि एजेन्ट शैली हावी भएको छ।’

प्रकाशित: २९ जेष्ठ २०८२ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App