बेलायतका पूर्वराजकुमार एन्ड्र्यूले विन्डसरस्थित आफ्नो विलासी आवास रोयल लज छोडेर पूर्वी इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेटमा बसाइँ सरेका छन्।
बिबिसीले मंगलबार यो जानकारी दिएको हो। यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धलाई लिएर नयाँ छानबिन र दबाब बढिरहेको समयमा उनले यो कदम चालेका हुन्।
अमेरिकी न्याय मन्त्रालयले हालै सार्वजनिक गरेका एपस्टाइनसम्बन्धी कागजातमा एन्ड्र्यूको नाम नयाँ सन्दर्भसहित उल्लेख भएपछि उनमाथि थप दबाब परेको छ। ती कागजातमा उनले भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेकेको तस्बिर र एपस्टाइनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गरेको इमेल आदानप्रदानको विवरण पनि छ।
६५ वर्षीय एन्ड्र्यू सोमबार रोयल लजबाट बाहिरिएका थिए। बकिङ्घम प्यालेसले यो विषयमा औपचारिक पुष्टि गर्न अस्वीकार गरेको छ। उनी विगत दुई दशकदेखि पूर्वपत्नी सारा फर्गुसनसँग विन्डसर क्यासल नजिकै बस्दै आएका थिए। अहिले उनी स्यान्ड्रिङ्घम एस्टेटमा अस्थायी घरमा बसिरहेका छन् र पछि मार्श फार्ममा स्थायी रूपमा सर्ने सम्भावना छ।
यी खुलासापछि प्रधानमन्त्री किर स्टार्मरले एन्ड्र्यूलाई अमेरिकी कांग्रेसमा गवाही दिन आग्रह गरेका छन्। एपस्टाइनकी एक पीडितले पनि सन् २०१० मा एन्ड्र्यूसँग यौन सम्बन्ध राख्न बेलायत पठाइएको दाबी गरेकी छन्।
एन्ड्र्यूले यस्ता सबै आरोप पटक–पटक अस्वीकार गर्दै आएका छन्। सन् २०२२ मा भर्जिनिया गिफ्रेलाई करोडौँ पाउन्डको सम्झौता गरेका थिए। उनी सन् २०१९ देखि शाही कर्तव्यबाट अलग छन्। एजेन्सी
प्रकाशित: २१ माघ २०८२ १२:१७ बुधबार





