६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

आजदेखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’

नेपालको समग्र निर्माण क्षेत्रको विकास र आधुनिकीकरणलाई लक्षित गर्दै आयोजना हुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। प्रदर्शनी आगामी माघ २५ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुनेछन्। प्रदर्शनी अवधिभर दुई सयभन्दा बढी प्रदर्शनी स्टलमार्फत नवीनतम निर्माण सामग्री, उपकरण र सेवा प्रस्तुत गरिने छ।

यो प्रदर्शनीले नेपाली निर्माण बजारमा देखिएको प्रविधिगत अन्तर घटाउन तथा अन्तर्राष्ट्रिय अभ्यास र समाधानलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ। विशेषगरी आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यवसायी तथा घर–भवन निर्माण योजनामा संलग्न व्यक्तिहरूका लागि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा विगत ११ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स–लेमिनार टाइल्स रहेको छ।

प्रकाशित: २१ माघ २०८२ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App