१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सटर त एउटा बन्द हुनैपर्छ, कि हाम्रो सटर बन्द गरिदिनुस् कि पुराना दलहरुको: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जनताले पुराना दलहरूको ‘राजनीतिक पसल’ बन्द गरिदिने दाबी गरेका छन्।

बुधबार कैलालीको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले अब देशमा बेथिति र कुशासनको सटर बन्द हुने समय आएको बताएका हुन्।

लामिछानेले जनतालाई विकल्प रोज्न आग्रह गर्दै भने, ‘सटर त एउटा बन्द हुनैपर्छ, कि हाम्रो सटर बन्द गरिदिनुस् कि यिनीहरूको (पुराना दलको) सटर बन्द गराइदिनुस्। अब कुशासन, बेथिति, बेरोजगारी र अशिक्षाको सटर एकैपटक बन्द गरेर २१ गते इतिहास लेख्ने बेला आएको छ।‘

उनले पुराना राजनीतिक दलहरूले दशकौंसम्म जनताको सपनामाथि डोजर चलाएको आरोप समेत लगाए।

‘यिनीहरू आए भने गरिबको बस्तीमा डोजर लगाउँछन् भनेर फेरि भोट चोर्न आउलान्,’ लामिछानेले भने, ‘तर तिनलाई सोध्नुहोस्- ३५ वर्षसम्म हाम्रो सपनामाथि डोजर कसले चलायो ? डोजर तिनले चलाएका हुन्, हामीले होइन।’

सभापति लामिछानेले रास्वपाले पहिलोपटक जनतासँग करार राजनीतिमा आएको बताउँदै देश बदल्नका लागि पाँच वर्षको स्थायी सरकार आवश्यक रहेको उल्लेख गरे।

उनले थपे, ‘हामी भोट हाल्ने मात्र होइन, इतिहास बदल्ने अवसरको प्रतीक्षामा छौँ। अब नेताले जित्ने र जनताले हार्ने दिनको अन्त्य हुनुपर्छ।’

रोजगारीका लागि भारतमा रहेका सुदूरपश्चिमका नागरिकहरूलाई सम्झिँदै उनले अब आफ्नै भूमिमा अवसर सिर्जना गर्न रास्वपा प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘तपाईंको निष्ठा र आस्थालाई म सम्मान गर्दछु, तर देशको अस्तित्व जोगाउन यसपटक परिवर्तनका पक्षमा उभिनुहोस्।’

प्रकाशित: ६ फाल्गुन २०८२ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App