१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

जेम्सलाई यु -१४ क्रिकेट उपाधि

अपराजित रहँदै जेम्स स्कुलले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी टेन क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगितामा शनिबार भएको फाइनलमा जेम्सले अक्षरामाथि ३ रनको साँघुरो जित निकाल्दै उपाधि उचालेको हो। यससँगै यस प्रतियोगितामा अक्षराको अपराजित यात्रा फाइनलमा नै पूर्णविराम लाग्यो। उपाधि भिडन्तमा उत्कृष्ट चुनौती दिए पनि अक्षराको लक्ष्य पूरा हुन सकेन।

कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा जेम्सले ६४ रनको लक्ष्य दिएको थियो तर जवाफी ब्याटिङ गरेको अक्षराले १० ओभर नै खेले पनि ६ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो। रिजेन बस्नेतले २२, नियोल राउतले १६ र लक्ष्यजित मल्लले १४ रन जोडे।

जेम्सका विदुस नेपालले २ तथा सुभन शाह, प्रागभ पाण्डे र अविर लामिछानेले समान एक विकेट लिए। पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ६४ रनको योगफल खडा ग¥यो। कप्तान विदुस नेपालले २०, दीक्षान्त मिश्रले १६ र आरभ गुप्ताले ८ रन जोडे। विदुस प्लेयर अफ द म्याच पनि भए।

अक्षराको बलिङमा हार्दिक न्यौपानेले ह्याट्रिक गरे। अभिक अछामीले दुई तथा कप्तान रिजेन बस्नेत र लक्ष्यजित मल्लले समान एक विकेट लिए। शनिबारै भएको सेमिफाइनलमा अक्षराले विश्वज्ञानलाई ८ विकेट र जेम्सले ग्यालेक्सी पब्लिक स्कुललाई २९ रनले हराउँदै फाइनल यात्रा तय गरेका हुन्।

उपाधिसँगै जेम्सले ५० हजार नगद पुरस्कार पाउँदा उपविजेता अक्षराले २५ हजार नगद पुरस्कारमा नै चित्त बुझायो। अक्षराका रिजेन बस्नेत प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले माउन्टेन बाइक पुरस्कार पाए।

ग्यालेक्सीका मिङ्मा तामाङ उत्कृष्ट ब्याट्सम्यान चुनिए। उनले ब्याट उपहार पाए। उत्कृष्ट बलर बनेका जेम्सका प्रागभ पाण्डेले जुत्ता पुरस्कार हात पारे। विजेतालाई मातृभूमिका कोओर्डिनेटर जयराम अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। तीनदिने प्रतियोगितामा ८ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १७ फाल्गुन २०८२ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App