सशस्त्र प्रहरी बल पर्साले भन्सार छलेर ल्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। विभिन्न स्थानबाट यी सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार वीरगञ्ज महानगर–१० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याई गोदाममा राखेको ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरका कपडा बरामद भएको छ। साथै, बिआर०५यु ४५३० नम्बरको करिब १ लाख ५० हजार रुपैयाँ मूल्यको सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरिएको छ।
बरामद कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगर–१० र १६ बाट विभिन्न सीमानाकाबाट २ लाख ४८ हजार १०१ रुपैयाँ बराबरका कपडा र मसला बरामद गरेको छ। मङ्गलबार नै बिन्दवासिनी गाउँपालिका प्रसौनिबाट भारतबाट भन्सार छलेर बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याइँदै गरेको २३ हजार ३८० रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको छ।
प्रकाशित: २८ जेष्ठ २०८२ ०७:४६ बुधबार





