नेपालमा ९९ प्रतिशत नागरिकको पहुँचमा विद्युत पुगेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बिहीबारको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बाँकी रहेको एक प्रतिशतको पहुँचमा पनि चाँडै विजुली पुर्याउने बताएका हुन् ।
नेपालमा कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको बताउँदै उनले वैकल्पिक ऊर्जाका कारण पनि यो सम्भव भएको उल्लेख गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ९९ प्रतिशत नागरिकको पहुँचमा बिजुली पुगेको बताएका थिए ।
वर्तमान सरकारले घिसिङको उक्त तथ्यांकलाई मान्यता दिएको हो । वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ८५ प्रतिशत नागरिकसम्म मात्रै विद्युत् पहुँच पुगेको तथ्याङ्क सार्वजनिक गरेका थिए ।
प्रकाशित: १५ जेष्ठ २०८२ १४:५० बिहीबार





