२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

आजदेखि प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव

आज (बिहीबार)देखि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सुरु हुने भएको छ। महोत्सवको केही समयपछि कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव मूल आयोजक समितिका अध्यक्ष समेत रहेका सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिए।

कार्यक्रममा सहभागिताका लागि पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सिदिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया सहितका व्यक्ति थामडाँडा पुगिसकेका छन्। महोत्सवस्थल समुद्र सतहबाट करिब ३ हजार ५ सय मिटरको उचाइमा रहेको छ। थामडाँडा पुगेका भएका पत्रकार महासंघ ताप्लेजुङका सचिव कृष्ण फुरुम्बो लिम्बूले महोत्सवस्थल झकिझकाउ बनाइएको जानकारी दिए।

महोत्सव स्थलमा याक तथा चौंरी प्रवर्द्धन कार्यक्रम अन्तरगत चौंरी प्रदर्शनी, चौंरीजन्य उत्पादन घीउ र छूर्पी, स्थानीय अल्लोको कपडाका स्टलहरू छन् भने स्थानीय जातजातिका परिकार चखाउने खाद्य परिकारका स्टलहरू समेत रहेका छन्।

जेठ १५ देखि १७ गतेसम्म चल्ने महोत्सवका कार्यक्रम अन्तरगत सिदिङ्वा धाम दर्शन तथा मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम समेत राखिएको छ। महोत्सवको दोस्रो शुक्रबार स्थानीय बिदा दिँदै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले महोत्सवका तीनै दिन बिदाको अवसर जुराएको छ। उद्घाटनको पहिलो दिन १५ गते गणतन्त्र दिवस परेकोले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

दोस्रो एकदिन शुक्रवार पालिकाले स्थानीय बिदा दिएको छ। तेस्रो तथा अन्तिम दिन शनिबार बिदा रहेकोले महोत्सवका तीनै दिन सार्वजनिक बिदा जुरेको सिदिङ्वा गाउँपालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिए। पछिल्लो समय दर्शनार्थीहरूको लोकप्रिय धार्मिक स्थलको ख्याति कमाइरहेको सिदिङ्वा धामको प्रवर्द्धन तथा सिदिङ्वा गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका सहसंयोजक एवं गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले जानकारी दिइन्।

प्रकाशित: १५ जेष्ठ २०८२ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App