चितवनको भरतपुर महानगरपालिका १ ठिमुरास्थित चितवन मिल्क उद्योग दुध अभावका कारण गत वैशाख १० गतेदेखि बन्द भएको छ।
सहकारी संस्था र डेरी फर्महरूले बिक्री नभएको दुध उद्योगलाई दिने गरेका थिए। उद्योगले त्यसेबाट नौनी घ्यु (बटर) र धुलो दुध उत्पादन गर्दै आएको थियो। यसपटक उद्योग सञ्चालनका लागि आवश्यक दुध नपाएकाले एक महिनादेखि उद्योग नै बन्द गर्नुपरेको चितवन मिल्क उद्योगका सहायक प्रबन्धक हेमप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार स्थापना भएपछि दुध नपाएर उद्योग बन्द गर्नुपरेको पहिलो पटक हो। ‘फागुन लागेपछि दुध थोरै आउने गर्दथ्यो। यसरी बन्द गर्नुपरेको थिएन’, तिवारीले भने, ‘किसानबाट दुध नआएपछि हामीले उद्योग नै बन्द गर्नुप¥यो।’ उद्योग सञ्चालन गर्नका लागि कम्तीमा चालिस हजार लिटर दुध आवश्यक पर्ने उनले बताए।
हप्तामा एक दिन भए पनि उद्योग सञ्चालन गर्ने योजना बनाएर किसानसँग दुध माग गरिए पनि प्राप्त गर्न नसकेको उनले बताए। यस उद्योगले दैनिक एक लाख ५० हजार लिटर दुध प्रशोधन गरेर पाउडर र नौनी बनाउन सक्छ। उद्योगमा ३४ कर्मचारी कार्यरत छन् र मासिक १५ लाख रूपैयाँ हाराहारी खर्च हुने उनले बताए।
बिजुलीको मात्र मासिक पाँच लाखभन्दा बढी बिल आउने गर्दछ। हाल उद्योगमा १५ किलोका नौ हजार बोरा नौनी र १२ हजार बोरा धुलो दुध बाँकी रहेको छ। यसरी सञ्चित दुध चाडपर्वका लागि ठिक्क हुने उद्योगको दाबी छ।
उद्योगले विक्रम संवत् २०७५ देखि डेरी र सहकारीको दुध शुल्क लिएर प्रशोधन गर्दै आएको थियो। पछिल्लो वर्ष उद्योगमा दुध आउने क्रम निरन्तर घट्दै गएको उनले बताए। तीन वर्षअघि वार्षिक एक करोड २८ लाख लिटर दुध आउने गरेकोमा चालु आर्थिक वर्ष एक करोड १२ लाख लिटर दुध मात्र आएको उनले बताए।
फागुनदेखि भदौ महिनासम्म बजारमा दुधको माग अत्यधिक हुन्छ। दुध नपाएर उद्योग बन्द गर्नुपरे पनि यता किसानहरूले दुध बिक्री गर्न कठिन भएको बताएका छन्। चितवन जिल्ला दुध उत्पादन सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको भुक्तानी नदिनका लागि केही उद्योगहरूले दुध नउठाउने चेतावनी दिएको बताए। ‘मंसिरदेखिको पैसा किसानले पाएका छैनन्’, बगालेले भने, ‘किसानलाई पैसा दिन पर्छ भनेर दुध उठाउन आनाकानी गरेका छन्।’
सरकारको स्वामित्वमा रहेको राष्ट्रिय दुग्ध विकास संस्थाले किसानको दुध नियमित नउठाएको उनले बताए।
उद्योगीले दुध नबिकेर किसानको भुक्तानी गर्न नसकेको बताएका छन्। यता बजारमा दुग्धजन्य पदार्थको स्टक न्यून रहेको बगालेले बताए। ‘बजारमा बिक्री नभएर भुक्तानी दिन सकिएन भनिएको छ’, उनले भने, ‘अहिले बजारमा न स्टक छ न अप्रशोधित दुध छ। यो उद्योगीले किसानलाई पैसा नतिर्ने बहानाबाजी मात्र रहेछ।’
केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले किसानले दूधको पैसा नपाउनु र उद्योगीहरूले सामानको स्टक भएको कारण देखाउँदै गर्दा उद्योगीहरूले प्रशोधन गर्नेमध्येको चितवन मिल्कमा धेरै स्टक नदेखिएको बताए।
दुग्ध सहकारीहरूले किसानलाई ऋण गरेर भए पनि भुक्तानी दिएको उनको भनाइ छ। अहिले सहकारीले अन्यत्र लगानी गरेर किसानको पैसा नदिएको भन्ने विषयको समेत उनले खण्डन गरे। ‘चितवनका सहरकारीले आफूले ऋण खोजेर किसानलाई भुक्तानी गरेको अवस्था छ,’ उनले भने, ‘सहकारीले आफू मारमा परेर भए पनि किसानको समस्या हल गरिरहेका छन्।’
२०६५ सालमा स्थापना भएको चितवन मिल्क नेपालको सबैभन्दा ठुलो दुध प्रशोधन उद्योग हो। यस उद्योगले प्रतिदिन एक लाख ५० हजार लिटर दुध प्रशोधन गर्ने क्षमता राख्दछ। उद्योगको मुख्य उद्देश्य उच्च गुणस्तरको दुध पाउडर र घ्यु उत्पादन गर्नु हो। उद्योगले मेचीदेखि महाकालीसम्मका डेरीहरूबाट दुध संकलन गर्दै आएको छ।
प्रकाशित: १४ जेष्ठ २०८२ ०८:१६ बुधबार





