लम्जुङको बेशीसहर–३ गाउँशहरस्थित काउलेपानी सामुदायिक होमस्टेमा २६ घर संलग्न छन्। तीमध्ये १५ घरले पाहुना राख्छन्, बाँकी ११ घरले पाहुनाका लागि आवश्यक खानेदेखि स्वागत र बिदाईका लागि चाहिने सामाग्रीको जोहो गरिदिन्छन्। पाहुना राख्ने घरले सामाग्रीको जोहो गरिदिने बाँकी अरु घरको काममा हस्तक्षेप पनि गर्दैनन्। त्यस्तै सामान जोहो गर्ने घरले पनि पाहुनाको लोभ गर्दैनन्।
होमस्टेका अध्यक्ष देव गुरुङका अनुसार होमस्टेले गाउँका बासिन्दालाई आयआर्जन दिलाएको छ। गाउँका सबैलाई काममा व्यस्त बनाएको छ। पाहुना नहुँदाको फुर्सदिलो समयलाई पनि उपयोग हुनेगरि होमस्टेले उत्पादनमुलक काममा गाउँलेलाई परिचालित गरेको छ। विदेश गएका युवालाई समेत गाउँ फर्काएर होमस्टे चलाउन लगाएर आम्दानी गराइएको छ।
‘गाउँका सबै बासिन्दाले होमस्टेबाट कुनै न कुनै रुपमा लाभ लिएका छन। होमस्टे चलाउने घरका बासिन्दाले त पाहुना राखेर कमाएकै छन। पाहुना राख्न नसकेका घरले पनि आम्दानी गर्न पाएका छन,’ उनले भने, ‘गाउँको एउटा घरले पाहुना राखेर आम्दानी गर्दैगर्दा अर्काे घरका बासिन्दा कामविहीन भएर बस्नुपरेको छैन। पाहुना राख्न नसकेको भन्दै दुख मनाउन गर्नुपरेको छैन।’
पाहुना राख्नका लागि पूर्वाधार नभएका घरका बासिन्दाले तिनै पाहुनाले खाने तरबारी, मासु, उत्पादन गरेर साथ दिएको उनले बताए।उनका अनुसार ११ घरका बासिन्दाले गाउँमा भित्रिने पाहुनाका लागि चाहिने तरकारी, खसीबोका, कुखुरा पालिदिएका छन्। पाहुनाको स्वागत र बिदाईमा चाहिने माला तिनै घरले तयार पारिदिन्छन्। काउलेपानीमा गुरुङ, नेपाल र भुजेल समूदायका बासिन्दाले होमस्टे संचालन गरेका छन्।
लम्जुङ सदरमुकाम बेशीसहरबाट ८ किलोमिटर टाढाको यो गाउँका होमस्टे संचालकले महिनामा कम्तिमा पनि ३० हजार रुपैयाँ घरैमा कमाउन सकेको अध्यक्ष गुरुङ बताउँछन। सिंगो गाउँले नै होमस्टेबाट काम र दाम पाएको उनले बताए। ‘गाउँका युवालाई फुर्सदै छैन। कोही पाहुनाको स्वागत र आतिथ्यतामा खटिन्छन, कोही उत्पादनमा लाग्छन। पाहुना नभएको बेला घरको काम गर्छन। कुनै न कुनै रुपमा समुदायले काम दिएको छ,’ उनले भने।
नवलपुरको देलचुली नगरपालिकामा संचालित छ पिप्रहर सामुदायिक होमस्टे ग्राम। होमस्टेकी अध्यक्ष चन्द्रमाया महतका अनुसार २०७३ होमस्टे संचालन सुरु भएको हो। गाउँका थारुका १५, मगरका ३, ठकुरीका ३ र गुरुङका १ गरि २२ घरमा होमस्टे संचालित छन। सबै गाउँलेले आलोपालो अनुसार पाहुना पाहुँछन। घरमा चारजनाको दरले पाहुना राख्न पाउँछन। होमस्टे संचालकले आफ्नै बारीमा उत्पादित तरकारीदेखिका खानेकुरा खुँवाउछन। गाउँका बासिन्दाले महिनामा कम्तिमा पनि ५० हजार रुपैयाँ कमाउँछन।
‘प्याकेजमा खाना खुवाउने र पाहुना राख्ने गर्छाै। त्यसबाहेक पाहुनालाई गाउँ र नजिकैको जंगल सफारी गराउँछौ। पाहुना अभाव खासै भोग्नुपरेको छैन,’ उनले भनिन, ‘गाउँमै काम मिलेको छ। दाम पनि मिलेको छ। सबैलाई आम्दानी दिएको छ। गाउँका बासिन्दाले होमस्टे चलाएर कमाएका छन। आसपासका गाउँका बासिन्दाले तरकारी र माछामासु उत्पादन गरेर आम्दानी गरेका छन।’
समुदायका सदस्यले पालो बाँडेर पाहुना राख्नुपर्दा कसैले बढी र कम पाहुना पाउने भन्ने नहुने उनले बताईन। ‘पाहुनालाई आतिथ्यता प्रदान गरेर आम्दानी गर्ने हो। घरमै बसीबसी काम र दाम पाएपछि गाउँले दंग छन। बेरोजगारी समस्या हल भएको छ।लम्जुङको काउलेपानी र नवलपुरको पिप्रहरका पदाधिकारीले जस्तै पोखरामा शुक्रबार र शनिबार संचालित ‘ होमस्टे मार्ट’मा सहभागि दुईदर्जन बढी होमस्टेका संचालकले होमस्टेको अवस्था र कमाउने तरिकाबारे अनुभव साटासाट गरे।
यो अनुभव साट्नका लागि नेपाल पर्यटन बोर्ड, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीले चाँजो मिलाएका थिए। मार्टमा भेला भएका होमस्टे संचालकले आफुले पाहुनालाई खुवाउने खानाको परिकारदेखि स्वागत र चिनोका सामाग्री पनि लिएर सहभागि भएका थिए। होमस्टे चलाएर घरमै बसीबसी सिंगो गाउँका बासिन्दाले आम्दानी गर्न सकेको भन्दै उनीहरु खुसी देखिन्थे।

‘होमस्टेले पर्यटन प्रवर्द्धनमा सघाएको छ। गाउँ र सहरको पर्यटनलाई जोड्नेगरि पोखरामा यो सहित तेश्रोपटक गाउँ पर्यटन मेला आयोजना गरेका हौ,’ पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले भने, ‘गाउँमा होस्टे संचालित छन। ती गाउँलाई पाहुना चाहिएको छ। पाहुना पोखरामा छ । सहरमा रहेका पाहुनालाई गाउँसम्म लैजानका लागि पनि बजारीकरण आवश्यक पर्छ। त्यही बजारीकरणका लागि हामीले मार्ट आयोजना गरेका हौ।’ पोखरामा यो सहित लगातार तेश्रोपटक मार्ट आयोजना गरिएको उनले बताए।
उनका अनुसार प्रदेशभित्रका म्याग्दी र गोरखाबाहेकका जिल्लाका होमस्टे व्यावसायी पोखराको यो मेलामा सहभागि थिए। ‘यो मार्टले गाउँगाउँमा रहेका व्यावसायीलाई बजारसम्म जोड्ने काम गरेको छ,’ लामिछानेले भने, ‘केही समयदेखि सुस्ताएको होमस्टेलाई उठाउनका लागि मेला सहयोगी पनि बनेको छ।’
लामिछानेका अनुसार यसअघि पनि यस्तै मेला २०७३ र २०७६ मा पोखरामा आयोजना गरिएको थियो। लामिछानेका अनुसार पोखरा भेगका कतिपय होमस्टेमा अहिले पर्याप्त पाहुना पुग्ने गरेका छन, भने कतिपयले पाहुना नपाएको अवस्था छ। यो मेलाले पाहुना नपाएको होमस्टेसम्म पाहुनाको पहुँच पु¥याउन सहयोग गर्ने उनले बताए।
‘होमस्टेका पाहुना सहरमा पनि छन्। पोखरामा विदेशी पाहुना पनि भेटिन्छन। त्यस्तै पोखरेली बजारबासीलाई पनि होमस्टेसम्म तान्नका लागि यो मेलाले पुलको काम गरेको छ,’ उनले भने, ‘होमस्टेले गाउँको पर्यटन क्षेत्रलाई उकासेको छ। गाउँमा रोजगारी सिर्जना गर्न पनि होमस्टेले सघाएको छ। गाउँलेलाई धेरथोर आम्दानी पनि दिएको छ।’ विदेश पलायन भएका कतिपय युवालाई आयका अवसर सिर्जना गरि गाउँ फर्काउने वातावरण समेत होमस्टेले बनाएको उनले बताए।
भिटोफ गण्डकी प्रदेश अध्यक्ष शोभा सापकोटाले पनि गाउँ र सहरको पर्यटनलाई जोड्ने माध्यम नै होमस्टे रहेको बताईन। ‘कतिपय गाउँ होमस्टेकै कारण चम्किएका छन। होमस्टेका कारण गाउँलेलाई गाउँमै रोकिराख्न सफल भएका छन। होमस्टे संचालन नहुँदो हो त कतिपय गाउँका बासिन्दा बसाई सरेरै जाने हुन्थे,’ उनले भनिन, ‘कम्तिमा गाउँमा चहलपहल गराउन र गाउँमा पाहुना भित्र्याएर स्थानीय कारोबारलाई चलायमान बनाउन होमस्टेले सघाएको छ।’
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका विभिन्न जिल्लामा संचालित होमस्टेमा मात्र ३० करोड रुपैयाँ अनुदान दिएको थियो। त्यसपछि पनि होमस्टेमा अनुदान निरन्तर रहँदा पाँचवर्ष अवधिमा भण्डै प्रदेश सरकारले मात्र ५ सय ५० होमस्टेलाई करिब ५२ करोड रुपैयाँ अनुदान बाँडिसकेको छ।
प्रकाशित: १० जेष्ठ २०८२ १७:०६ शनिबार





