दोलखा भीमेश्वरकी ५० वर्षीया जानुका न्यौपाने पेसाले राजनीतिकर्मी र समाजसेवी हुन्। उनी डेढ दशकयता राजनीतिमा सक्रिय छिन्। उनी अहिले एमाले बागमती प्रदेश कमिटीकी सदस्य हुन्। उनी सोही पार्टीनिकट अखिल नेपाल महिला संघ प्रचार विभागकी सदस्य पनि हुन् ।
उनको धेरैजसो समय राजनीतिक र सामाजिक गतिविधिमै बित्छ। सँगै उनले अहिले फूल किसान र व्यवसायीको छुट्टै पहिचानसमेत बनाएकी छन्। उसै त राजनीतिक कर्म कठिन हुन्छ, त्यसमाथि महिलालाई घरव्यवहारसमेत हेर्नुपर्दा व्यावसायिक रूपले अघि बढ्न सहज हुन्न। तर जस्तोसुकै कठिनाइका बाबजुद परिवारको व्यवस्थापनसँगै राजनीतिक, सामाजिक र व्यावसायिक जीवनलाई समानान्तर रूपमा अघि बढाइरहेको बताइन्।
परिवारको व्यवस्थापन गर्न पाइलैपिच्छे पैसा चाहिन्छ। व्यवहार गर्दै जाँदा आम्दानीबिनाको जीवनयापन असाध्यै कठिन हुन्छ भन्ने अनुभव उनले सँगालिन्। खर्च जुटाउन उनले विभिन्न संघसंस्थामा जागिर गर्दै आएकी थिइन्। राजनीतिमा बढी समय दिनुपरेपछि उनले जागिर छाडिन्। तर राजनीतिमा लाग्नेलाई खर्च बढी चाहिने भएपछि आफ्नै बलबुतामा केही गर्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो। त्यसैले उनले दुई वर्षअघि फूल खेती थालेकी हुन्। सुरुमा उनले आफ्नै घरमा नर्सरी बनाएर सयपत्रीका बिरुवा रोपिन्र सुरुको वर्ष फूल बेचेर अलिकति आम्दानी गरिन्। ‘दोस्रो वर्षबाट भने आफूले उत्पादन गरेको फूलबाट मनग्गे आम्दानी गर्न सक्ने अवस्थामा आइपुगेकी छु,’ उनले भनिन्, ‘आफ्नै परिश्रमले आम्दानी गर्दा ठुलो सन्तुष्टि मिल्ने रहेछ।’
उनले फूल रोप्ने र हुर्काउने तरिकाबारे अनुसन्धान गर्दै गइन्, फूलका बेर्नासमेत आफैं तयार पार्न सक्ने भइन्। त्यसपछि गत वर्ष ठुलो क्षेत्रफलमा उनले सयपत्रीका बिरुवा रोपिन्। फूल पनि धेरै फुले। तर बजार व्यवस्थापन सजिलो थिएन। बजार व्यवस्थापनका लागि उनले अनेक जुक्ति खोजिन्। स्थानीय कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न विभिन्न संघसंस्थासँग अनुरोध गरिन्। सुरुमा कसैले वास्ता गरेनन्। तर उनी पछि हटिनन्। न्यौपानेले खादाको सट्टा फूलको मालाले स्वागत गर्नु राम्रो हो भन्न छाडिनन्। अन्तत: उनको जुक्तिले काम गर्न थालेको छ। बिस्तारै सभा–सम्मेलनमा उनको फूलको मालाको प्रयोग बढ्दै छ। बिक्रीका लागि उनी राजधानी काठमाडौंसम्म फूल ल्याइपुर्याउँछिन्।
गत तिहारमा उनले काठमाडौंमा मात्र दुई लाख ५० हजार रूपैयाँबराबरको फूल काठमाडौं ल्याएर बेचिन्। बाँकी फूल उनले विभिन्न बजारमा लगेर बिक्री गरिन्। अहिले उनको नर्सरीमा सयपत्री मात्र नभएर अन्य ५० थरीका फूल छन्। फूल फुल्दै गर्छ र बिक्री पनि भइरहन्छ। ‘धेरैथोरै भन्ने मात्रै हो, फूल बिक्री नहुने भन्ने महिनै हुँदैन,’ उनले भनिन् । न्यौपानले फूल व्यवासयमा बलियो आर्थिक भविष्य देखेकी छन्। ‘राम्रोसँग खटिएँ भने वर्षमै १० लाख रुपैयाँसम्म कमाउन सक्छु,’ उनले निर्धक्कसाथ भनिन्। यतिखेर उनी फूल उत्पादन र व्यवसायका लागि काठमाडौंमा शाखा खोल्ने तयारीमा छिन्।
१३ वर्षकै उमेरमै उनको विवाह भएको थियो। सानै उमेरमा उनी तीन सन्तानकी आमा पनि बनिन्। छोराछोरी हुर्केर पढेर आ–आफ्नै काम–व्यवसायमा लागिसकेका छन्। पहिला पढ्न नपाए पनि उनले छोराछोरी हुर्केपछि एसएलसी पास गरेकी हुन्। त्यतिमै उनी अल्झिन चाहिनन्। उच्च शिक्षा अध्ययनको क्रमलाई अगाडि बढाएकी उनले केही वर्षअघि समाजशास्त्रमा विद्यावारिधि पनि हासिल गरिसकेकी छन्।
शिक्षित मानिसले शारीरिक बलको काम गर्नुहुँदैन भनी गाउँघरमा विकसित भएको भाष्यलाई चिर्दै उनी यतिखेर एउटा उदाहरणीय महिला व्यवसायी बन्नेतर्फ उन्मुख छिन्। ‘पढेलेखेका मान्छेले खेतीपातीको काम गर्नुहुँदैन भन्ने मान्यता मलाई पटक्कै मन पर्दैन,’ उनले भनिन्, ‘शिक्षित मानिसले काम गर्नुहुँदैन भन्ने सोचकै कारण धेरै नेपाली युवा विदेश पलायन भएका हुन्। शिक्षित व्यक्तिले पनि देशमै पसिना बगाउने हो भने यहीँ नै सम्भावनाको ढोका खोल्न सकिन्छ।’
प्रकाशित: ५ जेष्ठ २०८२ १९:१२ सोमबार





