२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टका कर्मचारीले तलब पाउन थाले

पाँच महिनादेखि तलब नपाएका उदयपुर सिमेन्ट उद्योगका कर्मचारीले तलब पाउन थालेका छन्। ६ महिना बन्द रहेको उद्योग वैशाख दोस्रो साताबाट मर्मत गरी सञ्चालनमा आएपछि उत्पादित सिमेन्ट बिक्रीबाट कर्मचारीलाई तलब दिन थालिएको हो।  

उद्योगका निमित्त महाप्रबन्धक महेश साहले उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्रीको रकम कर्मचारीको तलबमा प्रयोग गर्न थालेको बताए। सबै कर्मचारीलाई एकैपटक तलब दिन रकम अपुग भएकाले अंग्रेजी वर्णानुक्रमअनुसार तलब वितरण गरिएको छ। पहिलो दिन २६ जनाले र दोस्रो दिन २४ जनाले तलब पाए।  

उद्योग सञ्चालन भएपछि मंगलबारदेखि सिमेन्ट बिक्री सुरु भएको हो। साहका अनुसार सप्लायर्सको उजुरीमा अदालतले उद्योगका सबै खाता रोक्का गरेका कारण सिमेन्ट बिक्रीमा समस्या थियो। सरकारी उद्योग भएकाले बैंकमा रकम जम्मा गरेको भौचर प्राप्त भएपछि मात्र सिमेन्ट लोड गर्न सकिन्छ। खाता रोक्का हुँदा बिक्रीमा ढिलाइ भएको उनले बताए।  

काठमाडौं जिल्ला अदालतको सहकार्यमा लक्ष्मी सनराइज बैंकको एउटा खाता खोलेर सिमेन्ट बिक्री र तलब वितरण भइरहेको छ। बिग्रिएको उद्योग मर्मत गरी मौजुदा कोइला र डिजल प्रयोग गरेर सञ्चालन गरिएको थियो। तर, विद्युत् अवरोध र कर्मचारीको असहयोगले पटकपटक रोकिएको उद्योग तीन साता चल्दा ७ करोडभन्दा बढी मूल्यको क्लिङ्कर उत्पादन भएको छ। साहका अनुसार ४ हजार ८ सय मेट्रिक टन क्लिङ्कर अर्थात् ९० हजार बोरा सिमेन्ट उत्पादन भएको छ।  

दुई दिनमा २१ लाखको सिमेन्ट बिक्री गरी ५० जनालाई पुस महिनाको तलब दिइएको छ। लेखापाल उद्यब घिमिरेका अनुसार बिहीबार २६ जनालाई ९ लाख ५५ हजार र शुक्रबार २४ जनालाई ९ लाख २३ हजार तलब दिइयो। शुक्रबार चाँडै बिदा भएको र शनिबार सार्वजनिक बिदा परेकाले आइतबारदेखि बाँकी कर्मचारीको तलब र सिमेन्ट बिक्री हुने उनले बताए। हाल उद्योगमा २१३ कर्मचारी कार्यरत छन्।  

यता, कोइला सकिएकाले एक सातादेखि उद्योग बन्द छ। कोइला खरिद गर्न खाता रोक्काले समस्या भएको हो। साहले उद्योग सञ्चालनका लागि कोइला खरिद गर्न सरकारले रोक्का खाता खोल्न पहल गर्नुपर्ने बताए। ‘उद्योगका मेसिन ठीक छन्, कोइलाको मात्र खाँचो छ,’ उनले भने, ‘खाता नरोकिएको भए सहज हुन्थ्यो।’  

तीन वर्षदेखि घाटामा गएको उद्योगलाई सञ्चालन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ०८० चैतमा १६ करोड ऋण अनुदान दिएको थियो। त्यसबाट उद्योग मर्मत गरी बाँकी ११ करोडमध्ये ५ करोड आन्तरिक ऋण लिएर सञ्चालन गरिएको हो। १२ दिनको कच्चा पदार्थले उद्योग दुई सातामा एक महिनाको तलब, विद्युत् महसुल र ५ करोड ऋण तिर्न पुग्ने सिमेन्ट उत्पादन भएको छ।  

कर्मचारीका अनुसार, कच्चा पदार्थको व्यवस्था भए उद्योग निरन्तर चल्न सक्छ। १२ दिनको कोइलाले दुई सातामा ७ करोडको सिमेन्ट उत्पादन भएको र अहिलेकै अवस्थामा मर्मत नगरी दुई महिना चल्न सक्ने उनीहरूको भनाइ छ। तर, त्यसका लागि सरकारले रोक्का खाता खोली कोइला र कच्चा पदार्थको व्यवस्थापन गर्नुपर्ने सुझाव छ।  

अदालतको आदेशले वैशाखदेखि उद्योगका राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमसी, एनआइसी एसिया, लक्ष्मी सनराइज, सिटिजनलगायत २६ खाता रोक्का छन्। ललितपुर जिल्ला अदालतको वैशाख २ को पत्रअनुसार, कोइला सप्लायर्स पायोनियर होल्डिङको ९ करोड ९२ लाख ७७ हजार भुक्तानी नभएका कारण खाता रोक्का भएको साहले बताए। ०८० साउन ९ को टेन्डरअनुसार ४ हजार मेट्रिक टन कोइला आपूर्तिको भुक्तानी १५ दिनभित्र गर्न अदालतले भने पनि उद्योगले भुक्तानी गर्न नसक्दा खाता रोक्का भएको हो।

प्रकाशित: २ जेष्ठ २०८२ २०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App