गैरआवासीय नेपाली (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ।परराष्ट्र मन्त्री आरजु देउवा राणाको प्रमुख आतिथ्यमा महाधिवेशन सुरु भएको हो।
काठमाडौंमा सुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रूपमा लैजाने अपेक्षाबीच सुरु भएको हो। सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा शनिबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले एनआरएनए परिचय पत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन्। उनले सर्वोच्चमा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र शनिबार यो उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन्।
एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रूपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैरआवासीय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन्। उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रूपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन्।
कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवादभन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिपलाई नेपालमा प्रयोग गर्न आग्रह गरे। उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास गर्न सुरु गरे त्यसैगरी नेपालले पनि यसबाट सिक्नुपर्ने बताए।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए। उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोहअवरोहलाई सम्बोधन गर्दै अब एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए। उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अब युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए।
घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए। उनले निर्वाचन विवादरहित बनाउन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए।
तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचनमार्फत नयाँ प्रतिनिधि छानिनेछ। सोमबार कार्यक्रम समापन हुने छ।
प्रकाशित: २१ वैशाख २०८२ १०:५५ आइतबार





