१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

चौदण्डीगढीको पुँजीगत खर्च १० महिनामा ३७ प्रतिशत

आर्थिक वर्ष २०८१/८२ को १० महिना बितिसक्दा चौदण्डीगढी नगरपालिकाको पुँजीगत बजेटको खर्च निराशाजनक रहेको छ। विकास निर्माणका योजनामा लगानी हुने पुँजीगत बजेटको खर्च ३७.०६ प्रतिशत मात्र भएको छ, जबकि चालु बजेटको खर्च ६४.१८ प्रतिशत पुगेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल ८० करोड ९२ लाख ३९ हजार ६६० रुपैयाँको बजेट पारित गरेको थियो। यसमा पुँजीगततर्फ २२ करोड ३२ लाख ३५ हजार २६४ र चालुतर्फ ५८ करोड ६० लाख ४ हजार ३९६ रुपैयाँ विनियोजन गरिएको थियो। चैत मसान्तसम्म पुँजीगततर्फ ८ करोड २७ लाख ३१ हजार ७९४ र चालुतर्फ ३७ करोड ६१ लाख १४ हजार ९५ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए। समग्रमा कुल बजेटको ५६.७ प्रतिशत अर्थात् ४५ करोड ८८ लाख ४५ हजार ८९० रुपैयाँ खर्च भएको छ।

नेपालका अधिकांश सरकारी कार्यालयमा पुँजीगत बजेट समयमा खर्च नहुने समस्या छ। असार मसान्तमा हतारमा खर्च गर्ने परम्पराले कामको गुणस्तर कमजोर हुने र राजस्वको दुरुपयोग हुने गरेको छ। मङ्सिरसम्म चाडपर्वको बहानामा विकास योजनाहरू कार्यान्वयनमा ढिलाइ हुने, सम्भाव्यता अध्ययन, सर्भेक्षण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), ठेक्का प्रक्रिया र सिलान्यासजस्ता कार्यले समय लिने गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयले असार २० भित्र सबै योजना सम्पन्न गर्न निर्देशन दिए पनि पुँजीगत रकम अन्तिम समयमा खर्च गर्ने प्रवृत्तिले ठूलो रकम फ्रिज हुने र बहुवर्षीय योजनाहरूको लागत बढ्ने समस्या छ।

नगरप्रमुख कालुमान लामाले समयमै पुँजीगत बजेट खर्च गर्ने प्रयास भइरहेको तर विभिन्न समस्याले कठिनाइ भएको बताए। नगरपालिकाको स्रोतबाट बन्ने योजनाहरू ढिला भए सञ्चित कोषमा राखेर अर्को वर्ष कार्यान्वयन गर्न सकिने भए पनि प्रदेश र सङ्घीय सरकारको बजेट असारभित्र खर्च नभए फ्रिज हुने उनले बताए। आगामी वर्षदेखि कार्यान्वयन प्रक्रियामा सुधार गरी समयमै बजेट खर्च गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: ६ वैशाख २०८२ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App