सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ऊर्जा मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको कुरा सरकारलाई थाहा नभएको दाबी गरेका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक रूपमा जानकारी नभएको प्रतिक्रिया दिएका हुन्।
‘सरकारमा औपचारिक रूपमा त्यसको जानकारी आएको छैन। औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र उहाँको तर्फबाट लिनुपर्ने निर्णय हुन्छ’, मन्त्री खरेलले भने।
प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार विषम परिस्थितिमा बनेको दाबी गर्दै यसलाई स्वतन्त्र नागरिक सरकारको दाबी गर्दै आएकी छन्। तर, सोही सरकारका मन्त्रीहरू विभिन्न दलमा सहभागी भएको, दलीय गतिविधिमा लागेको र चुनावी तयारी गरिरहेको आरोप लाग्दै आएको छ। जसमा कुलमान, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालगायतको नाम छ। उनीहरू दलीय गतिविधिमा लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले जिम्मेवारीबाट हटाउनुपर्ने पनि आवाज उठिरहेका छन्।
पछिल्लो समय स्वयं सञ्चार मन्त्री खरेल पनि चुनाव लड्ने मनसायमा रहेको कुरा सुनिन थालेका छन्। उनले सरकारका मन्त्री पनि योग्य नागरिक भएकाले चुनावमा उठ्न पाउने प्रतिक्रिया दिए।
प्रकाशित: १८ पुस २०८२ १७:५८ शुक्रबार





