नेपाल विद्युत् प्राधिकरणको बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनको अध्ययन, निरीक्षण तथा सो कारणले भएको विद्युत् अवरोधको समस्या तुरुन्त समाधान गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्च स्तरीय टोली बिहीबार त्यहाँ पुगेको छ।
अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्य सहित टोली त्यहाँ पुगेको हो । वर्षौँदेखि प्राधिकरण अन्तर्गतका प्रसारण तथा वितरण पूर्वाधार संरचना मर्मत–सम्भार (काम चलाऊ) अवस्थामा सञ्चालन गरिँदै आएको छ ।
दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडान लगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना घट्न नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने भएको छ । ढल्केबर देशकै ठूलो सबस्टेसन हो । यहाँ ४०० केभीदेखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी) सम्मका अलग–अलग सबस्टेसन छन् ।
बुधबार सबस्टेसनको १३२/३३/११ केभी खण्डमा मात्र समस्या आएको हो । सबस्टेसनको पूरै खण्डमा कुनै समस्या नआएको ढल्केबर गिड महाशाखाका प्रमुख विनोद लोहनीले जानकारी दिए । निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन उच्च सतर्कता साथ काम गर्न तथा अति संबेदनशिल सबस्टेशनहरुमा ब्याकअप सप्लाइ सहितको व्यवस्था गर्ने गरी कार्य योजना अगाडि बढाउन निर्देशन दिए । अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्थालाई तत्काल सुचारु गर्ने गरी वैकल्पिक योजना सहित कार्य गर्न र विद्युत् अवरुद्धको सूचना सम्प्रेषण प्रभावकारी ढङ्गबाट दिई ग्राहक बर्गलाई भरपर्दो गणस्तरिय विद्युत् आपूर्तिको लागि ने.वि.प्रा प्रतिबद्ध रहेको सन्देश समेत प्रवाह गर्न मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवलाई निर्देशन दिए।
सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर (सिटी) पड्केर बुधबार बिहान करिब ७:३० बजेदेखि धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएकोमा वैकल्पिक व्यवस्था गरी अधिकांश स्थानमा हिजो नै विद्युत् आपूर्ति व्यवस्था मिलाइएको थियो ।
सबस्टेसनमा जडित ६३ एमभिए क्षमताका दुई पावर ट्रान्सफर्मरमा २०८१ साल भदौ १८ गते पनि समस्या आएको थियो । दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए विद्युत् भार (लोड) आपूर्ति भइरहेकामा करिब ३ सातासम्म ३० एमभिएको लोड काटिएको थियो । त्यतिबेला प्रभावित क्षेत्रको आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् आयात गरिएको थियो ।
प्रकाशित: ४ वैशाख २०८२ १७:०८ बिहीबार





