नयाँ वर्ष २०८२ लागेसँगै नेप्से परिसूचकमा निरन्तर वृद्धि भइरहेको छ । गत मंगलबारदेखि निरन्तर बढेको नेप्से कारोबार हुने साताको अन्तिम दिन बिहीबार २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ।
बिहीबार कारोबार रकम पनि बढेको छ। बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको नेप्सेमा बिहीबार १० अर्ब ७९ करोड बढीको कारोबार भएको छ । बिहीबार ३११ स्टकको ९० हजार ५५५ पटकको कारोबारमा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सेन्सेटिभ इण्डेक्स ६.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँ र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५० करोडको शेयर किनबेच भएको छ।
बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य प्रतिशतले घटेको छ। बिहीबार लगानी उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ।
प्रकाशित: ४ वैशाख २०८२ १५:३७ बिहीबार





