लगातार ओरालो लागेको शेयर बजार बुधबार हरियाली देखिएको छ। अघिल्लो कारोबार दिन ५८ अंकले घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से परिसूचक आज (बुधबार) भने ३९.१३ अंकले उकालो लाग्दै २६२१.८६ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ५.७१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले उकालो लागेको छ।
नेप्से उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ५ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ३१७ स्टकको ४८ हजार ७८५ पटक कारोबार हुँदा जम्मा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ।
आज माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य सबैभन्दा धेरै ५.८५ प्रतिशतले बढेको छ। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ हाइड्रोपावरका सेयर मूल्य पनि ५ प्रतिशतभन्दा बढी बढेका छन्।
यता, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ४१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ५० लाख रुपैयाँभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब २३ करोड बराबरको सेयर कारोबार भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक हरियो देखिएको छ। जसमध्ये ‘अन्य’ उपसमूह सबैभन्दा बढी २.०९ प्रतिशतले बढेको छ।
जीवन बीमा उपसमूह पनि २ प्रतिशतभन्दा बढीले बढेको छ। यस्तै, बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
प्रकाशित: १३ चैत्र २०८१ १५:५३ बुधबार