राष्ट्रिय फुटबल टोलीको खराब नतिजा र प्रदर्शनका कारण १४ महिनापछि ब्राजिलले मुख्य प्रशिक्षक डोरिभल जुनियर शुक्रबार बर्खास्त भएका छन्।
ब्युनस आयर्समा भएको विश्वकप छनोट खेलमा ब्राजिलले कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनासँग ४–१ को लज्जापूर्ण हार बेहोरेको थियो। जुन विश्वकप छनोटमा ब्राजिलको सबैभन्दा ठूलो हार हो। त्यो हार भएको तीन दिनपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनका अध्यक्ष एडनाल्डो रोड्रिग्वेजले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक इडनाल्डोलाई बर्खास्त गरेका हुन्।
रियो दी जेनेरियोमा भएको पत्रकार सम्मेलनमा कन्फेडेरेसनका अध्यक्ष रोड्रिग्वेजले डोरिभल जुनियरको जिम्मेवारी सकिएको बताएका हुन्। ‘आजको मितिबाट हामी उनको विकल्प खोजीमा छौं। कन्फेडेरेसनले केही प्रशिक्षकहरूसँग सम्पर्क गरिरहेको बारे चर्चा चलिरहेको थियो। तर, त्यति बेला कुनै कन्फेडेरेसनका कुनै पनि आधिकारिक व्यक्तिले भनेका थिएनन्,’ रोड्रिग्वेजले भनेका छन्।
विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाँचौं स्थानमा छ। छनोटका १० टोलीमध्ये शीर्ष ६ राष्ट्रले सीधै विश्वकपमा स्थान बनाउन पाउनेछन्। ६२ वर्षे डोरिभल जुनियरको प्रशिक्षणमा ब्राजिलले सात खेल जितेको थियो। सात खेलकै नतिजा बराबरी र दुई हार उनको प्रशिक्षणमा ब्राजिलले सामना गरेको छ।
पछिल्ला चार खेलमध्ये उनको प्रशिक्षणमा ब्राजिलले एक खेलमा मात्र जित दिलाएका थिए। यसबीच ब्राजिलले २५ गोल गर्दा १७ गोल बेहोरेको थियो। गत कोपा अमेरिकामा पनि ब्राजिल क्वार्टरफाइनलमा नै उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुगेको थियो।
गत मंगलबार मात्र रोड्रिग्वेज कन्फेडेरेसनको अध्यक्ष पदमा पुनः निर्वाचित भएका थिए। उनी सन् २०३० सम्मका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले सन् २०२३ मा रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई भित्र्याउने दाबेदारी प्रस्तुत गरेका थिए, जो एक वर्षपछि मात्र जिम्मेवारी समाल्नेछन्। एन्सेलोट्टीको पर्खाइमा ब्राजिलको यु–२० टोलीका प्रशिक्षक रामोन मेनेजेसले सिनियर टोलीको अन्तरिम प्रशिक्षण समालेका थिए। पछि फर्नान्डो डिनिजले अन्तरिम प्रशिक्षकको जिम्मेवारी समाले। गत सन् २०२४ को जनवरीमा डिनिज पनि बर्खास्तमा परे।
दुई जित, एक बराबरी र तीन हारपछि डिनिज बर्खास्तमा परेका हुन्। यता, एन्सेलोट्टीले पनि स्पेनमा सम्झौता अवधि बढाएका छन्। यस विश्वकपको बीचमा ब्राजिलले तीनवटा प्रशिक्षक परिवर्तन गरिसकेको छ। गत सन् २००२ को विश्वकप जितेयता ब्राजिलले खराब प्रदर्शन गर्दै आएको छ।
लुइज फिलिप स्कोलारीले जापान र दक्षिण कोरियाको विश्वकपभन्दा एक वर्षअगाडि मात्र ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी समालेका थिए। ब्राजिलको स्थानीय सञ्चारमाध्यमअनुसार ब्राजिल फुटबलका अध्यक्ष रोड्रिग्वेजले एन्सेलोट्टी र अल हिलालका प्रशिक्षक जर्ज जेसुसमध्ये एकलाई भित्र्याउने प्रयास गरिरहेका छन्।
यी दुई नभए इटालियन र पोर्चुगिज प्रशिक्षकमध्ये एक जनालाई भित्र्याउने तयारी पनि भइरहेको छ। त्यो सम्झौता सम्भव भए पहिलोपल्ट ब्राजिलभन्दा बाहिरका प्रशिक्षकले जिम्मेवारी समाल्नेछन्। विश्वकप छनोटमा ब्राजिलले आगामी दुई खेल जुनमा नै खेल्ने भएको छ। तीमध्ये ब्राजिलले दोस्रो स्थानको इक्वेडरसँग र घरेलु भूमिमा छैटौं स्थानको पाराग्वेसँग खेल्नेछ। अमेरिकामा त्यही महिनामा नै एन्सेलोट्टीले रियाल मड्रिड र जेसुसले अल हिलालको प्रशिक्षण गर्दै क्लब विश्वकपको छनोट खेल खेलाउँदै छन्।
प्रकाशित: १७ चैत्र २०८१ ०८:१८ आइतबार