चीन सरकारले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यक्रम नेपालको आर्थिक विकासको लागि कोसेढुंगा हुन सक्ने विज्ञले बताएका छन्।
यो कार्यक्रमअन्तर्गत सञ्चालन हुने कार्यक्रम छान्दा होसियारी अपनाए उच्चतम लाभ सुनिश्चित हुने उनीहरूको राय छ। फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमको आयोजनामा काठमाडौंमा आइतबार सम्पन्न दुई दिने ‘काष्ठमण्डप डायलग’ मा सहभागी विज्ञले उक्त सुझाव दिएका हुन्।
नेपालको उत्तरी छिमेकी चीनले विश्वका एक सय ५० देशमा कार्यान्वयनमा ल्याएको यो कार्यक्रमले नेपालको आर्थिक तथा सामाजिक विकासमा रूपान्तरण ल्याउन सक्ने उनीहरूको धारणा छ। बिआरआई सम्बन्धी दुई दिने संवादको मुख्य उपलब्धिबारे जानकारी दिँदै संवाद आयोजक संस्थाका संरक्षकसमेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई अन्तर्गत अनुदान, सहुलियतपूर्ण ऋण तथा व्यावसायिक ऋण लिन सकिने बताए।
कार्यक्रममा बोल्ने चिनियाँ विज्ञ र नेपालका लागि चीनका राजदूतले समेत यो कार्यक्रममा चीनको विशेष स्वार्थ नरहेको प्रष्ट पारेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री खनालले बिआरआई कार्यान्वयनमा नेपालको आन्तरिक क्षमता पनि बढाउन आवश्यक रहेको बताए। नेपालले सडक, रेल, विद्युत् प्रसारण लाइन, टेलिकम लगायतका क्षेत्रमा उत्तरी छिमेकीसँग बहुआयामिक दृष्टिले कनेक्टिभिटी स्थापना गर्न सक्ने र यसले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
देश विकासका लागि चाहिने पुँजी र प्रविधिको अभाव रहेको वर्तमान सन्दर्भमा चीनको यो सहयोग कार्यक्रम नेपालको विकासको कोसेढुंगा हुन सक्ने खनालले बताए। चीनको यो कार्यक्रमबारे जनस्तरमा र राजनीतिक तहमा समेत ‘सही बुझाइ’ को अभाव रहेको चर्चा गर्दै उनले यो विषयमा थप छलफल र अन्तरक्रिया आवश्यक रहेको बताए।
‘ठूला परियोजनाका विषयमा विवाद र छलफल हुनु स्वभाविक हो तर यसलाई ठूला राजनीतिक पार्टीका तहमा समाधान हुनुपर्दछ,’ उनको सुझाव थियो। यसैगरी व्यवहारिक दृष्टिले कार्यान्वयन हुन सक्ने परियोजनालाई मात्र अगाडि बढाउन र नेपालका लागि उच्चतम लाभ सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
आयोजक संस्था फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमका अध्यक्ष वि के मानसिंहले नेपाल–चीन आर्थिक सहयोगका विषयमा आगामी दिनमा पनि संवाद निरन्तर जारी रहने बताए। सही दृष्टिले बिआरआईको उपयोग गर्न सकेको खण्डमा यो कार्यक्रम नेपालको लागि चीनको उपहार हुन सक्ने उनको कथन थियो ।
प्रकाशित: ४ चैत्र २०८१ ०९:१८ सोमबार