२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

चार वर्षपछि विराटनगर भन्सारले भेट्टायो लक्ष्य

चार वर्षपछि विराटनगर भन्सार कार्यालयले राजस्वको लक्ष्य भेट्टाएको छ ।  आर्थिक वर्ष २०७८-०७९ को सुरुवाददेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले चार वर्षपछि आर्थिक वर्ष २०८१-०८२ को माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।  

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुसदेखि सुधार हुन थालेको राजस्वले माघ महिनामा पनि निरन्तरता पाउँदै लक्ष्य भेट्टाएको हो । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनाका लागि ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ३ अर्ब ४३ करोड ४२ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्ष २०८०-०८१ को माघ महिनाको तुलानामा झण्डै एक अर्बले बढी हो । गत आर्थिक वर्षको माघ महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३३ लाख ६० हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।  

यसअघि पुस महिनामा पनि विराटनगर भन्सार कार्यालयले राजस्व संकलन लक्ष्यको नजिक पु¥याएको थियो । पुस महिनाका लागि विराटनगर भन्सार कर्यालयलाई ३ अर्ब ३१ करोड ९३ लाख ४७ हजार रुपैयाा राजस्व संकलनको लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब १९ करोड २० लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।  

पुसभन्दा अगाडिका महिनाहरूमा भने विराटनगर भन्सार कर्यालयको राजस्व लक्ष्यको तुलनामा थोरै मात्रै संकलन हुँदै आएको थियो । विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो । मंसिर महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब २७ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा कार्यालयले २ अर्ब ४४ करोड ४० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै कार्तिक महिनाका लागि ३ अर्ब ३२ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा कर्यालयले २ अर्ब ३८ करोड ७९ लाख ४४ हजार रुपैयाँ असुली गरेको थियो । जुन लक्ष्यको ७१.७३ प्रतिशत हो ।  

यस्तै असोज महिनामा विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ३१ करोड ४८ लाख ९० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा कार्यालयले २ अर्ब ४७ करोड ४७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्ष्यको ७४.६६ प्रतिशत हो ।  

यस्तै भदौ महिनाका लागि ३ अर्ब ५८ करोड ११ लाख ८५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा २ अर्ब ४४ करोड ४२ लाख ६९ हजार  रुपैयाँ  संकलन गरेको छ । जुन लक्ष्यको ६८.२६ प्रतिशत हो ।  साउन महिनामा ३ अर्ब २५ करोड५९ लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा २ अर्ब ६२ करोड ४२ लाख ९३ हजार रुपैयाँ मात्रै असुली गरेको थियो । जुन लक्ष्यको ८१.५७ प्रतिशत हो । विराटनगर भन्सार कार्यालयले निरन्तर राजस्व संकलनमा लक्ष्य भेट्टाउन छाडेपछि चालु आर्थिक वर्षका लागि राजस्वको लक्ष्यसमेत घटाइएको थियो ।  

चालु आर्थिक वर्षका लागि विराटनगर भन्सार कार्यालयलाई  २३ अर्ब, ३१ करोड, ७८ लाख ८६ हजार रुपैयाँ राजस्व लक्ष्य तोकिएको छ । गत आर्थिक वर्षका लागि २९ अर्ब ३७ करोड १६ लाख १७ हजार रुपैयाँ राजस्व लक्ष्य तोकिएको थियो । गत वर्ष भन्दा राजस्व संकलनको  लक्ष्य घटाइएको र आयातमा सुधार हुन थालेसँगै विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा पनि सुधार भएको देखिएको छ ।  

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा विराटनगर नाकाबाट हुने कुल वैदेशिक व्यापारले पनि फड्को मारेको भन्सार कार्यालयको तथ्याँकले देखाएको छ । गत आर्थिक वर्षको माघ महिनामा विराटनगर नाकाको कुल व्यापार १६ अर्ब ४० करोड ८० लाख १० हजार रुपैयाँ रहेकोमा चालु आर्थिक  वर्षको माघ महिनामा बढेर ३० अर्ब ९३ करोड ८८ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आवको तुलनामा आयात र निर्यात दुबै बढेको देखिएको छ । गत वर्ष माघ महिनामा  १३ अर्ब ९२ करोड ४७ लाख ५६ हजार रुपैयाँको बस्तुहरू आयात भएको थियो भने २ अर्ब ४८ करोड ३२ लाख ५४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा आयात बढेर २२ अर्ब ५७ करोड ५६ लाख १० हजार रुपैयाँ  र निर्यात ८ अर्ब ३६ करोड ३२ लाख १८ हजार रुपैयाँ पुगेको छ । आयात–निर्यात दुबैमा सुधार हुँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा पनि उल्लेख्य सुधार आएको तथ्यांकले देखाएको छ । 

प्रकाशित: ८ फाल्गुन २०८१ १९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App