पोखरामा स्वदेशी र विदेशी गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारीमा जुटेको पोखरा महानगरपालिकाले पर्यटक भित्र्याउनका लागि योजना सार्वजनिक गरेको छ। त्यसका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट गर्ने तथा २०२५ भित्रै पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को समेत आयोजना गर्ने महानगरले बताएको छ।
महानगरले विहीबार पत्रकार भेटघाट गर्दै २० लाख पर्यटक भित्र्याउनका लागि गरिने कार्यक्रमको महानगरका प्रमुख धनराज आचार्यले योजना सुनाए। मेयर आचार्यका अनुसार योवर्ष पोखरा भित्रिने पर्यटकका लागि भिन्दै प्याकेज पनि उपलब्ध गराईनेछ। त्यसका लागि पोखराका पर्यटन व्यावसायीसँग विशेष प्याकेज माग पनि गरिएको छ।
‘पोखरा पर्यटनको राजधानी पनि हो। सबै हिसाबले अहिले पोखराको पहुँच सहज भएको छ। त्यसैले पोखरामा यो वर्ष २० लाख पर्यटक भित्र्याउन सकिने अपेक्षा गरेका छौं,’ आचार्यले भने। आचार्यका अनुसार महानगरको लक्ष्य पुरा गर्नका लागि स्वदेशी तथा विदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई समेत पोखरा घुम्न बोलाउने योजना महानगरले बनाएको छ।
त्यस्तै विभिन्न विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदुतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने महानगरले तयारी गरेको मेयर आचार्यले बताए। त्यस्तै कुटनीतिक निकायसँग समन्वय गर्दै पोखरा भ्रमणको प्रर्वद्धन गरिदिन आह्वान गर्ने पनि महानगरको योजना छ ।
पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरका उच्चपदस्थ पदाधिकारीलाई पोखरा भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिने महानगरको योजना छ। भ्रमण वर्षको अवधिभर स्वदेशका ५ र विदेशका ५ गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने महानगरको योजना छ।
‘पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने महानगरको तयारी छ,’ उनले भने, ‘२०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को आयोजना गर्ने तयारी छ।’
पोखराको ब्राण्डिङ र मार्केटिङका लागि अभियान सञ्चालन गर्ने तथा भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न प्रकाशन गर्ने पनि उनले बताए। गैरआवासिय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा पोखरा भ्रमण वर्षको प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने योजना पनि महानगरले बताएको छ।
पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी तथा स्वदेशभित्रैका मुख्य सहरमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने महानगरको योजना छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष नाघेको भएपनि अन्तर्राष्ट्रिय उडानको अहिलेसम्म कुनै टुंगो छैन। विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सीमित छ।
त्यसैगरि मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रूतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्गानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने पनि महानगरले योजना सार्वजनिक गरेको छ।
नयाँ पर्यटकीय गन्तव्यको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचार प्रसार गर्ने पनि महानगरले बताएको छ। पाहुनालाई स्वागत, बिदाइ र कोसेलीका रुपमा लिन दिन मिल्ने वस्तु तथा सामाग्रीको उत्पादन र विकासमा सहजीकरण गर्दै उद्योग वाणिज्य संघको सहकार्यमा कोसेली घर निर्माण गर्ने पनि महानगरले योजनामा समेटेको छ।
पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र नीजि क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकहरुका लागि उपलब्ध गराउन सकिने प्याकेज भ्रमण वर्षको औपचारीक घोषणामार्फत सार्वजनिक गरिने पनि महानगरले बताएको छ।
‘पोखरा भित्रिने मुख्य सडक निर्माणको अन्तिम अवस्थमा रहेकोले अब आउजाउ सहज छ, त्यसले पनि पोखरामा पाहुना आगमन बढाउनेछ,’ उनले भने, ‘पोखराबारे प्रचार प्रसार पनि भईरहेकोले महानगरको लक्ष्य पुरा हुनेमा दुइमत छैन।’
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अहिले पोखरमा वर्षमा कति पर्यटक आउँछन् भन्ने यकिन नभएको अवस्थामा पहिलो काम तथ्यांक राख्नुपर्ने बताउँछन्। ‘महानगरले पर्यटक भित्रिने मुख्य नाकामा जनशक्ति परिचालन गरेर पोखरा भित्रिने पर्यटकको तथ्यांक राख्ने भनेको छ। त्यसबाहेक यहाँ पर्याप्त होटल रहेको र ती होटलको अकुपेन्सीको आधारमा २० लाख पर्यटकको लक्ष्य उत्ति अप्ठेरो होईन,’ उनले भने।
पोखरालाई पर्यटनको राजधानी पनि घोषणा गरिएकोले पोखराबारे प्रचारप्रसार भईरहेकोले पाहुना भित्र्याउन उत्ति सकस नरहेको उनले बताए। जहाज दुर्घटना र राजमार्गको सकसका कारण पोखराले यो वर्ष केही सास्ती खेपेको भएपनि पोखरामा प्रर्वद्धनात्मक कार्यक्रम प्रयाप्त भईरहेकोले पाहुना भित्र्याउन सकिने लामिछानेले बताए। ‘पोखरामा विभिन्न प्रकारका कार्यक्रम भईरहेका छन। केही कार्यक्रम पाइपलाइनमा पनि छन। ती कार्यक्रमले पोखरामा पाहुना तान्न सघाउँछन,’ उनले भने, ‘घोषणा गर्नु आफैमा प्रवद्र्धन हो। घोषणाले पन फरक माहोल बनाउँछ।’
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकीय गतिविधि हुनु आफैमा राम्रो भएकोले पोखरा भ्रमण वर्षले पोखराको ब्राण्डिङ हुने बताए। ‘व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्छ। सफा र सुन्दर सहर बनाउन रातदिन खट्नुपर्छ, त्यत्ति गरियो भने पोखरामा पाहुनाा भित्र्याउन नसकिने होईन,’ पराजुलीले भने, ‘तर, त्यसका लागि केही लगानी वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र सरसफाई तथा पूर्वाधार निर्माणमा खर्चनुपर्छ।’
पर्याप्त प्रचारप्रसार गर्ने हो भने पोखरामा वर्षमा २० लाख भित्र्याउन कुनै अवरोध नरहेको उनले बताए। ‘यो वर्ष लक्ष्य नपुगेपनि अर्काे वर्ष राम्रो हुनेछ। तर, पोखराबारे ब्यापक प्रचार जरुरी छ। अहिलेको प्रचारप्रसारको प्रभाव अर्काे वर्ष पर्छ,’ उनले भने, ‘प्रचारप्रसारसँगै पोखराको सौन्दर्यकरणमा ध्यान दिनुपर्छ।’
प्रकाशित: १ फाल्गुन २०८१ १७:५७ बिहीबार