गाईघाटलाई खोटाङ सदरमुकाम दिक्तेलसँग सोझो याताायतले जोड्ने सगरमाथा लोकमार्गको एक मात्र नाका फोक्सिन्टारमा बेलिब्रीज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गएको बाढीले उदयपुर र खोटाङबीच फोन्सिन्टारस्थित सुन नदीको पक्की मोटरेबल पुल बगाएपछि विकल्पको रूपमा निर्माण थालिएको अस्थायी बेलिब्रीज सकिन लागेको हो।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ ९ लिच्कीराम्चेबीच सुननदीमा निर्मित १ सय २० मिटर लामो आर्क डिजाईनको पक्की पुल गत असोज १२ गते रातिको बाढीले भत्काएको थियो। त्यसयता गाईघाट–दिक्तेल सोझो यातायात सम्बन्ध विच्छेद भएपछि खासगरी खोटाङबासी चरम मार्कामा परेका छन्। तत्काल मर्मत वा अर्को पुल निर्माण सम्भव नहुने देखिएकाले सडक सुचारु गर्न अस्थायी बेलिब्रीज निर्माण थालिएको हो। बेलिब्रीज महिना दिनभित्रै निर्माण सम्पन्न हुन लागेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ।
योजना प्रमुख (डिई) पशुपति ज्ञवालीका अनुसार बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। ‘ढिलोमा यहीँ २४–२५ गतेभित्र सकेर यातायात सञ्चालन गर्नेगरी काम सकिन लागेको छ,’ डिई ज्ञवालीले भने, ‘दुई जिल्लाबासीलाई जोड्ने प्रमुख नाकाकै पुल भत्केकाले पनि चाँडो सकेर यातायात सुचारु गर्न बेलिब्रीज निर्माण गरिएको हो। अबको १–२ दिनभित्रै पुल सुचारु हुनेगरी काम भइरहेको छ।’
योजना कार्यालयले मङ्सिर २८ गते मूल्य अभिवृद्धि कर (भ्याट)सहित १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँ लागत मूल्यमा बेलिब्रीज ठेक्का लगाएको हो। कामको जिम्मा पाएको आरएन कन्स्ट्रक्सन कटारी, उदयपुरले सम्झौता गरेलगत्तै साईट पुगेर बेलिब्रीज बनाउन थालेको थियो।
पुसभित्रै गाडीहरू चल्ने गरी बेलिब्रीज निर्माणको सम्झौता भए अनुसार म्यादभित्रै काम सम्पन्न हुन लागेको योजना कार्यालयका साईट इन्चार्ज इन्जिनियर सुवास तिवारीले बताए। उनका अनुसार ९० प्रतिशतभन्दा बढी काम सकिइसकेको छ । ५० मिटर लामो बेलिब्रीज छिटो निर्माण गरी यातायात सुचारु गर्न द्रुत गतिमा काम गर्न भइरहेको तिवारीले बताए।
फोक्सिन्टारमा पक्की पुल बन्नुअघि पनि बेलिब्रीजकै सहारामा गाडीहरू नदी वारपार गर्थे। पक्की पुल बनेपछि भने बेलिब्रीज खोलेर त्यहीँ राखिएको थियो। सामान त्यहीँ भएकाले पनि काम छिटो र सहज भएको इन्जिनियर तिवारीले बताए। पुल बाढीले भत्काएर यातायात अवरुद्ध भएपछि खोटाङतर्फका गाडी पारि र गाईघाटबाट गएका बस वारि नै रोकेर रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नुपर्ने हुँदा यात्रुलाई गन्तव्य चुम्न कठिनाइ भइरहेको छ।
फोक्सिन्टारस्थित पक्की पुल ०७९ मध्यदेखि मात्र सञ्चालनमा आएको हो। निर्माण सुरु भएको झण्डै दशकपछि बनेको पुल सञ्चालनमा आएको २ वर्ष नबित्दै भत्केको हो। वारिपारि दुवैतर्फ पहुँच मार्ग (एप्रोच सडक)समेत बन्न बाँकी छँदै बाढीले भत्काएपछि दुई जिल्लाबासी प्रभावित भएका छन्।
प्रकाशित: २२ पुस २०८१ ११:११ सोमबार