नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो महिना भदौभन्दा बढी राजस्व असुली गरेको छ।
नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकाबाट आयात केही बढेकाले अघिल्लो महिनाभन्दा कात्तिकमा केही राजस्व वृद्धि भएको हो।
नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा ७६ दशमलब ४४ प्रतिशत अर्थात १६ लाख ६८ हजार तीन सय सात रुपैयाँ मात्र राजस्व असुली भएको छ। २१ लाख ८२ हजार पाँच सय ६२ रुपैयाँ असुली गर्ने लक्ष्य राखे पनि सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण नहुँदा लक्ष्य हासिल हुन सकेन। असोजमा १४ लाख १२ हजार नौ सय ४२ रुपैयाँ राजस्व असुली भएको छ।
यो आर्थिक वर्षमा २ करोड ७१ लाख ८३ हजार ५८९ मा २२ दशमलब ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। कछुवा गतिमा राजस्व संकलन हुँदा यस आर्थिक वर्षमा पनि नेपालगन्ज भन्सार कार्यालयलाई आफ्नो लक्ष्य भेटाउन कठिन देखिएको छ।
६० लाख ४९ हजार ६ रुपैयाँको आयात हुँदा एक लाख २३ हजार पाँच सय ५६ रुपैयाँको सामान मात्र निर्यात छ । आयात/निर्यात तुलनामा ४८ दशमलब ९५ देखिन्छ भने कात्तिकमा मात्र नेपालगन्ज भन्सार कार्यालयले माइनस ९७ दशमलब ९५ प्रतिशत व्यापार घाटा व्यहोरेको छ।यस आर्थिक वर्षको अहिलेसम्म ९६ दशमलब ९८ प्रतिशत घाटा नेपालगन्ज भन्सार कार्यालयले व्यहोर्नु परेको छ।
डिजेल, एलपी ग्याँस, पेट्रोल, खाद्यान्नका सामान नेपालगन्ज भन्सार कार्यालयबाट भित्रिरहेका छन्। भन्सार महसुल आयात,अन्तःशुल्क, स्वास्थ्य जोखिम कर,भन्सार महसुल निर्यात, कृषि सुधार शुल्क र भन्सार सम्बन्धी अन्य आयमा नेपालगन्ज भन्सार कार्यालय राजस्व असुली गर्दै आएको छ।
खुला सीमा क्षेत्रका कारण यहाँका विभिन्न ठाउँमा तस्करीले चोरी पैठारी गर्दै आएका छन्। नेपाल–भारत सीमा क्षेत्रको प्रमुख प्रवेशद्वार जमुनाह नाकाबाट पनि सुरक्षाकर्मी, भन्सार कर्मचारीको मिलेमतोमा चोरी पैठारी हुने गरेको आरोप नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला लगाउँदै आएका छन्।
यस कारणले पनि नेपालगन्ज भन्सार कार्यालयले राजस्व असुलीमा लक्ष्य हासिल गर्न नसकेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्या कृष्णप्रसाद श्रेष्ठले बताए। ‘नेपालगन्जलगायत आसपासका सहरी तथा बजारी क्षेत्रमा भारतीय सामान देखिन्छन्। यसले भारतबाट आउने सामानको आयात राम्रै देखिन्छ,’ उनले भने, ‘तर, राजस्व असुली भने सधैँ घाटामा देखिन्छ।’
प्रकाशित: १५ मंसिर २०८१ १९:१७ शनिबार