१२औं राष्ट्रिय पोसाक दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा कलासंस्कृतिका क्षेत्रमा योगदान पुर्याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा. राजेन्द्र विमल, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णलगायतको समुपस्थितिमा कार्यक्रम भएको थियो।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय पोसाक दिवसका अवसरमा नेपाली संस्कार, संस्कृतिमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।
राष्ट्रिय पोसाकको औचित्य एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्यले दौरासुरुवाल, ढाकाटोपी, गुन्युचोलीले नेपालमा बसोबास गर्ने सबै जात, भाषा, संस्कृतिको साझा भेषभूषा रहेको र यिनलाई संरक्षण एवं प्रयोग गर्ने दायित्व हामी सबैको रहेको बताए।
संस्कृतिका क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेर उत्प्रेरणा थप्नुपर्ने बताउँदै उनले भने, ‘सबै जातजातिले आफ्ना परम्परागत भेषभूषालाई संरक्षण गर्नुपर्छ। यस्ता पहिरन हाम्रा पहिचान हुन्। यद्यपि सबैको साझा नेपाली पहिरन भने दौरासुरुवाल, ढाकाटोपी नै हो।’
कार्यक्रममा साहित्यकार डा. राजेन्द्र विमलले आफू मधेसी समुदायको भए पनि परिआउँदा बक्खु समेत लगाउने बताए। विमलले भने, ‘मैले प्रायः मधेसमा धोती लगाएर बस्छु, आज दौरासुरुवाल र ढाकाटोपी लगाएको छु, भोलि बक्खु लगाउन कुनै कुराले छेक्दैन। हामी पहिरनका आधारमा विभाजित हुनेहोइन।’
उक्त अवसरमा प्रा.डा. विद्यानाथ कोइरालाले पहिचान, पोसाक र इतिहास सन्दर्भमा लामो दस्ताबेज प्रस्तुत गरेका थिए। सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद अन्त्यका लागि पोसाकको समानताले पनि भूमिका निर्वाह गर्ने बताए।
यसै सन्दर्भमा उनले थपे, ‘जातीयलगायतका विभेद गर्ने हो भने जुन पोसाक लगाए पनि समाजमा सुखशान्ति स्थापित हुँदैन। त्यसैले संस्कृतिको संरक्षण गर्दै विभेद अन्त्यमा योगदान गरौं।’
कार्यक्रममा साहित्यकार डा. राजेन्द्र विमललाई ‘राष्ट्रिय धरोहर सर्वोच्च सम्मान’, प्रा.डा. वीणा पौड्याललाई ‘राष्ट्रिय धरोहर नारीरत्न सम्मान’, राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई ‘राष्ट्रिय धरोहर माधवप्रसाद घिमिरे स्मृति सम्मान’, साहित्यकार मोहन दुलाललाई ‘संस्कृतिविद् ज्ञानमणि नेपाल स्मृति सम्मान’, सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानालाई ‘राष्ट्रिय धरोहर दीर्घसाधना साहित्य एवं पत्रकारिता पुरस्कार’, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णलाई ‘राष्ट्रिय धरोहर योगी नरहरिनाथ स्मृति सम्मान’, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीलाई ‘राष्ट्रिय धरोहर साहित्य पुरस्कार’, साहित्यकार/पत्रकार दिलीप ढकाललाई ‘राष्ट्रिय धरोहर साहित्यकार एवं पत्रकार सम्मान’, सञ्चारकर्मी प्रकाश सुवेदीलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना पत्रकारिता सम्मान,’ इतिहासकार गोविन्द नेपालीलाई ‘सत्यमोहन जोशी स्मृति सम्मान’, साहित्यकार त्रिभुवनचन्द्र वाग्लेलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना साहित्य एवं पत्रकारिता सम्मान’, गायक सुमित खड्कालाई ‘विशिष्ट गायक तथा सर्जक सम्मान’, लेखक दीपेन्द्रराज तिम्सिनालाई ‘‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान’, सामाजिक अभियन्ता चक्रबहादुर चन्दलाई ‘राष्ट्रिय धरोहर युवा उत्प्रेरणा सम्मान’ जेसिस अध्यक्ष रजनी थापालाई ‘राष्ट्रिय धरोहर अभिनन्दन सम्मान’, सञ्चारकर्मी नवराज बजगाईंलाई ‘राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान’, संगीतकार राजेन्द्र बजगाईंलाई ‘राष्ट्रिय सर्जक सम्मान’ र अभियन्ता केपी खनाललाई ‘राष्ट्रिय धरोहर युवा सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो।
प्रकाशित: १७ पुस २०८१ २०:३८ बुधबार